
दाङ, १२ असोज । निरन्तरको वर्षाले दाङसहित देशका धेरैजसो ठाउँको जनजीवन प्रभावित बनेको छ । लगातारको वर्षातका कारण नदि तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेको छ ।
निरन्तरको वर्षापछि नदी तटीय क्षेत्रको डुबान भइरहने होचा भागमा रहनेलाई उच्च सतर्कता अपनाउन भनिएको छ । आज बेलुकासम्म नै लगातार पानी पर्ने सम्भावना रहेको मौसमविद गोविन्द झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार भोलि आइतवार बिहान पनि केही ठाउँमा पानी पर्ने सम्भावना छ । आइतवार दिउँसो या बेलुकीदेखि मौसममा क्रमिक सुधार हुने अनुमान छ ।
लगातारको वर्षातका कारण दाङको राप्ती , बबई नदि र अन्य सहायक खोलामा पानीको सतह बढेको छ । बाढी पूर्वानुमान महाशाखाले विभिन्न क्षेत्रमा बाढीको जोखिम रहेको सन्देश पठाइरहेको छ ।
बाढी पूर्वानुमान महाशाखाले निरन्तर झरी परिरहेका सबै क्षेत्रमा साना ठूला खोला तथा नदीमा जोखिम हुने भएकोले सावधानी अपनाउन भनेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रमा अन्य क्षेत्रको तुलनामा काम वर्षा मापन भए पनि आज देशैभरि वर्षा भइरहेको छ । निरन्तरको वर्षाले प्राकृतिक विपत्ति आउन सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुरक्षित रहन आग्रह गरेको छ ।