दाङ, १० असोज । दसैँ नजिकिँदासम्म पनि यो वर्षको मनसुन बाहिरिएको छैन । बरू आजदेखि देशभरको मौसम बदली भएर असोजमा पनि झरी पर्ने भएको छ ।
जल तथा मौषम विज्ञान विभागका अनुसार आजदेखि चार दिन लगातार देशभर मौसम बदली हुने छ । विभागले चार दिनसम्म देशभर विभिन्न ठाउँमा हल्कादेखि अति वर्षासम्म भएर त्यसले ५६ जिल्लामा जनधनको क्षति हुनसक्ने भन्दै सजग गराएको छ ।
विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । ’बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावको कारण आज दिउँसोदेखि असोज १३ (आइतबार) सम्म देशभर अधिकांश स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा अत्याधिक वर्षाको सम्भावना रहेको छ ।
तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ । वर्षाको कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको छ । महाशाखाले धान नकाट्न किसानलाई आग्रह गरिसकेको छ । महाशाखाका अनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेश प्रभावित हुने देखिएको छ ।


