दाङ, ९ असोज । दाङ उपत्यकासहित देशका धेरै ठाउँमा भोलिदेखि भारी वर्षाको अनुमान गरिएको छ । मनसुनी वायु र बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभरको मौसममा बदलाव आई विभिन्न ठाउँमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित ठूलो वर्षाको अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले विशेष बुलेटिन जारी गर्दै आइतवार बिहानसम्म सात वटै प्रदेशमा ठूलो वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको हो । यो अवधिमा बाढी पहिरोका घटनासमेत बढ्नसक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ वटा जिल्लालाई उच्च सावधानी अपनाउनुपर्ने अर्थात् ’रेड अलर्ट’ मा राखेको छ ।
वर्षा गराउने प्रणाली नेपाल नजिक झन् शक्तिशाली बनेकाले वर्षा हुने क्षेत्र र असर बढी पर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभएको छ । महाशाखाले धान नकाट्न किसानलाई आग्रह गरिसकेको छ ।
आजदेखि मनसुनी वायुको प्रभाव अझ बढेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लुम्बिनी प्रदेशका दाङ, पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रुकुमपूर्व, रोल्पा, बर्दिया र बाँकेलाई उच्च जोखिमको सूचीमा राखिएको छ ।जल तथा मौसम फिल्ड कार्यालय दाङका अनुसार आज ८ दशमलव ७ मिलिमिटर पानी परेको छ । आज राती पनि वर्षाको अनुमान गरिएको छ ।
दाङको आजको अधिकतम तापक्रम २९ दशमलव ७ डीग्री सेल्सीयस रहेको छ भने न्युनतम तापक्रम २३ दशमलव ८ डिग्रि सेल्सीयस मापन गरिएको छ । यस्तै आज साँझ साढे ५ बजे पछिको हावाको गति शून्य दशमलव ५ मिटर प्रतिसेकेण्ड रहेको र औषत सापेक्षित आद्रता ८४ प्रतिशत रहेको छ ।


