२०८१ मङ्सिर २३ गते आइतवार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइदै

दाङ, ३ असोज । आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ देशभर र विदेशमा विभिन्न कार्यक्रमहरू गरी हर्षोल्लासका साथ मनाइँदैछ । संघ, प्रदेश, र स्थानीय सरकार, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, र सामाजिक संस्थाहरूले संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरेका छन् ।

संघीय राजधानी काठमाडौंको टुँडिखेलमा आज बिहान संविधान दिवसको मुख्य समारोह आयोजना हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा समारोहमा सहभागी हुनुहुनेछ । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी, साँझ राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम रहेको छ ।

विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा पनि संविधान दिवसको अवसरमा कार्यक्रमहरू हुनेछन्। सात दशक लामो सङ्घर्ष र बलिदानपछि २०७२ असोज ३ गते नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको थियो ।

नेपालको संविधानले समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षता, र समाजवादप्रति प्रतिबद्ध रहेको संविधानले देशलाई समृद्ध बनाउन अठोट गरेको छ। यस संविधानको नवौं वार्षिकोत्सवको उपलक्ष्यमा सरकारले देशभर दीपावली गर्न र राष्ट्रिय झण्डा फहराउन आह्वान गरेको छ ।

आजै काठमाडौँको दरबारमार्गमा संविधान दिवसको उल्लासमय वातावरणमा राष्ट्रिय दिवसको साङ्गीतिक प्रस्तुति समेत हुनेछ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, र विभिन्न नेताहरूले शुभकामना सन्देश मार्फत् राष्ट्रिय दिवस भव्य रूपमा मनाउन आम जनसमुदायलाई आह्वान गरेका छन् ।

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस