२०८१ फाल्गुन १ गते बिहिवार

प्रथम कुबेर बहादुर शाह स्मृति कप भलिबलको तयारी पूरा

दाङ, २ असोज। दाङको तुलसीपुरमा भोलि बिहीबारदेखि सुरु हुने स्वर्गीय कुबेर बहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ को तयारी पूरा भएको छ। नेपाली कांग्रेस तुलसीपुर नगर कार्यसमितिको आयोजना तथा फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरको प्राविधिक व्यवस्थापनमा अरनिको खेल मैदान, तुलसीपुर मा प्रतियोगिता सञ्चालन हुने भएको छ।

प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी द्वारा गरिने कार्यक्रम तय भएको छ, जसको औपचारिक उद्घाटन कार्यक्रम मध्याह्न १२ बजेका लागि निर्धारण गरिएको नगर सभापति सुरेश हमालले जानकारी दिनुभयो।

तत्कालीन समयमा समग्र राप्ती अञ्चलको खेलकुद विकासमा अतुलनीय योगदान पुर्‍याउने खेलकुद क्षेत्रका हस्ती स्वर्गीय कुबेर बहादुर शाहको स्मृतिमा आयोजित यस प्रतियोगिताले राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्द्धन गर्ने, साथै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पुर्‍याउने उद्देश्य रहेको छ। प्रतियोगिताका लागि आतिथ्य सत्कार, आर्थिक व्यवस्थापन, प्रचारप्रसार, खेल मैदान तथा मञ्च निर्माणलगायत सबै तयारी पूरा भइसकेको छ।

तीन दिनसम्म चल्ने यस प्रतियोगितामा दाङसहित अन्य जिल्लाका १२ टिमको सहभागिता रहनेछ। प्राविधिक व्यवस्थापनको जिम्मा पाएको फेलोसिप ट्रेनिङ सेन्टरका सञ्चालक राजु यरीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो।

प्रतियोगिताको विजेता टिमले नगद रु. १,०५,०००, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमलाई क्रमशः नगद रु. ६५,००० र रु. ३५,०००, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न व्यक्तिगत विधामा पुरस्कृत गरिनेछ। बेष्ट प्लेयर हुने खेलाडीले नगद रु. ३,५००, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, बेष्ट सेटर, बेष्ट सर्भर, बेष्ट स्पाइकर, बेष्ट ब्लकर र बेष्ट लिब्रो खेलाडीहरूलाई नगद रु. २,५०० र ट्रफी प्रदान गरिनेछ, जसको जानकारी आयोजक समितिका सदस्य गोरख वलीले दिनुभयो।

प्रतियोगिताका खेलहरू नकआउट प्रणालीमा खेलाइने छन् भने खेल तालिका (टाईसिट) बिहीबार बिहान ९ बजेका लागि तोकिएको छ। यसैबीच, आयोजकले भोलि हुने उद्घाटन समारोहमा भलिबल प्रेमी, खेलाडी, खेलकुदसँग सम्बद्ध संघ/संस्था, राजनीतिक दल, पत्रकारलगायत सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८१ असोज २ गते बुधवार
प्रतिक्रिया दिनुहोस