दाङ, २ असोज । नेपाल श्रम सर्वेक्षण २०७४/७५ ले नेपालमा १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसङ्ख्यामध्ये ९ लाख बेरोजगार रहेको देखाएको छ । यसमा पनि सबैभन्दा ठूलो हिस्सा १५ देखि २४ वर्ष उमेर समूहको छ ।
यसपछि २५ देखि ३४ वर्ष उमेर समूहका युवाहरू बेरोजगार रहेको सर्वेक्षणले देखाएको हो । यो उमेर समूहसँग सीप, क्षमता र अनुभव नहुँदा अदक्ष कामदारको रूपमा वैदेशिक रोजगारी विकल्प बनिरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाअनुसार हाल कामको खोजीमा स्थानीय तहमा गई बेरोजगारमा सूचीकृत हुनेको सङ्ख्या ८ लाख ८५ हजार १ सय ५४ छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित विभिन्न रोजगार लक्षित कार्यक्रमबाट २०७८ फागुनसम्म ४ लाख ४३ हजार ४ सय ६७ जनाले आंशिक र ४८ हजार ७ सय ८१ जनाले पूणर् रोजगारी पाएका छन् ।
यस्तै आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७ लाख ८ हजार २ सय ८७ सूचिकृत बेरोजगारमध्ये ७१ हजार ३ सय २४ जनाले रोजगारी प्राप्त गरेका आर्थिक सर्वेक्षण २०७८ ले देखाएको छ ।


