२०८१ माघ ६ गते आइतवार

घोराहीमा नगरस्तरीय खेलकुद प्रतियोगिताको तयारी


घोराही, १८ भदौ । घोराही उपमहानगरपालिकाको नगरस्तरीय खेलकुद विकास समितिले चालु आर्थिक वर्ष २०८१–०८२ का खेलकुद प्रतियोगिताहरूको कार्यक्रम सुरु गरेको छ। गत वर्षदेखि खेलकुद गतिविधिहरूलाई अगाडि बढाएको नगरस्तरीय खेलकुद विकास समितिले यस वर्ष भदौ २८ र २९ गते दुई दिनसम्म नगरस्तरीय अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै खेलकुद कार्यक्रमको शुरुवात गर्न लागेको हो।

नगरस्तरीय खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनका अनुसार, घोराही-१४ स्थित कभर्ड हलमा हुने प्रतियोगिताका लागि घोराहीमा रहेका सबै विद्यालयलाई भदौ २५ गतेसम्म खेलाडीको नामावलीसहित टिम दर्ता गर्न आह्वान गरिएको छ। सिंगल र डबल दुई विधामा खेलाइने प्रतियोगितामा १७ वर्षमुनिका छात्र-छात्राहरूले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेलाई नगद, मेडल, र प्रमाणपत्र प्रदान गरिने संयोजक पुनले जानकारी दिनुभयो।

प्रतियोगिताको आयोजनाका लागि देवबहादुर भण्डारीलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ, जसमा श्रवणकुमार खनाल र पत्रकार छबि पुरीलाई सदस्यको जिम्मेवारी दिइएको छ।

वडा स्तरीय खेलकुद समिति गठन

यस वर्षलाई वडा स्तरीय खेलकुद विकास समिति गठनको वर्षका रूपमा अघि सार्दै, भदौ महिनाभित्र सबै वडामा खेलकुद विकास समिति गठन अभियान सुरु गर्न लागिएको छ। नगरस्तरीय खेलकुद विकास समिति सदस्यहरूलाई विभिन्न वडामा समिति गठनको जिम्मेवारी बाँडफाँड गरिएको छ।

जिम्मेवारी बाँडफाँड यस प्रकार छ :

  • वडा नम्बर १ र ४ का लागि श्रवणकुमार खनाल
  • वडा नम्बर २ का लागि कृष्णा सुनार
  • वडा नम्बर ३, ५, ६ का लागि दामोदर शर्मा (दामु)
  • वडा नम्बर ७ र १४ का लागि प्रविण दहित थारु
  • वडा नम्बर ८ र ९ का लागि सुनिता बिष्ट
  • वडा नम्बर १०, ११, १२, १३, १८, १९ का लागि प्रविण पुन
  • वडा नम्बर १५ का लागि बिमल थापा
  • वडा नम्बर १६ का लागि देवबहादुर भण्डारी

वडा नम्बर १७ मा भने गत वर्ष नै वडा स्तरीय खेलकुद विकास समिति गठन भइसकेको छ।

खेलकुद प्रशिक्षक उत्पादन कार्यक्रम

खेलकुद विकास समितिले आगामी असोज पहिलो सातादेखि खेल प्रशिक्षक उत्पादन गर्ने कार्यक्रम अघि सारेको छ। घोराहीका १९ वटै वडामा दुई-दुई जना खेलकुद प्रशिक्षक उत्पादन गर्न एन्फाको स्वीकृतिमा असोज १० गतेदेखि घोराहीमै एन्फा कम्युनिटी कोचिङ कोर्स संचालन गर्न पत्राचार भइसकेको संयोजक पुनले बताउनुभयो।

प्रशिक्षणका लागि इच्छुक पूर्व खेलाडीहरूले पनि नगर खेलकुद विकास समितिसँग समन्वय गर्न सक्नेछन्। सम्पर्क व्यक्तिका रूपमा नरेन्द्र पुन, गोपाल कवँर, र इराक घर्तीलाई जिम्मेवारी दिइएको छ।

राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी

यसैगरी, मंसिरमा सुर्खेतमा हुन लागेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा घोराहीबाट सहभागी हुने खेलाडीहरूलाई आवश्यक प्रक्रिया पूरा गर्न नगर खेलकुद विकास समितिसँग समन्वय गर्न आग्रह गरिएको छ। मंसिर २ देखि १९ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि खेलाडीहरूको नाम दर्ता गर्दा नागरिकता, बसाइसराइ वा ठेगाना खुल्ने सरकारी कागजातका साथ भदौ २८ गतेसम्ममा जिल्ला खेलकुद विकास समिति बेलझुण्डीमा बुझाउन नगर खेलकुद विकास समितिले अनुरोध गरेको छ।

नगरस्तरीय खेलकुद विकास समितिका संयोजक नरेन्द्र पुनले योजनाबद्ध ढंगले तालिका अनुसार खेलकुद गतिविधिहरू संचालन भइरहेको र यसलाई प्रभावकारी बनाइरहने योजना रहेको बताउनुभयो।

प्रकाशित मिति : २०८१ भाद्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस