दाङ, १२ भदौ । ठण्डर लिग २०८१ को दोस्रो दिनको चौथो खेलमा ठण्डर लेजेन्ड्सले हिरा डागी फाउण्डेसनको टिम सीलाई १७-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
यो जितसँगै ठण्डर लेजेन्ड्सले तीन अंकसहित १७ गोलको साथमा लिगको शीर्ष स्थान हासिल गरेको छ ।
आज तेस्रो दिनको पाँचौं खेल ठण्डर वारियर्स र ठण्डर डाइनामोसबीच साँझ ५ बजे अरनिको मैदान, तुलसीपुरमा हुनेछ । १८ वर्ष मुनिको उमेर समूहको लिगमा १८, १६, र १४ वर्षका खेलाडीहरूको मिश्रण रहेको छ ।
यस मिश्रणले जुनियर खेलाडीहरूलाई सिनियरबाट केही सिक्ने अवसर प्रदान गर्दछ भने सिनियर खेलाडीहरूले आफ्नो कौशल प्रदर्शन गर्न सक्नेछन् । ठण्डर येतिका टिमहरूलाई किशोर भण्डारी, अन्जना पुन मगर, अन्जली चन्द, र कुसुम श्रेष्ठले प्रशिक्षण दिइरहनुभएको छ ।
‘हामीले आफ्नो खेल आफ्ना अभिभावकलाई देखाउन पाउँदा खुशी लागेको छ’ सहभागी खेलाडी स्रिजु श्रेष्ठले भन्नुभयो-‘ यस लिगमार्फत स्थानीय तह र खेल निकायलाई महत्वपूणर् सन्देश प्रवाह भएको छ ।’
हिरा डागी फाउण्डेसन, ठण्डर येति फुटबल क्लब, र सह-आयोजक यसनुर समूहले खेलाडीहरूको अभाव पूर्ति गर्न प्रयास गरिरहेका छन् । स्थानीय सरकारले पनि थप यस्ता प्रतियोगिता आयोजना गरी खेलाडी र क्लबहरूको मनोबल बढाउनुपर्ने खेलाडीले बताएका छन् ।