
दाङ, २७ साउन । दाङमा विभिन्न मुद्धामा अदालतबाट दोषी ठहर भएर फरार रहेका ११ जना अभियुक्त पक्राउ परेका छन् । प्रहरीले चालु वर्षको साउन १ गतेदेखि २५ गतेसम्मको अवधिमा एक महिलासहित ११ जना अभियुक्तलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राम प्रसाद तिमल्सिनाले चोरी, लेनदेन, सवारी ज्यान, मोबाइल चोरी, बैंकिङ कसुर, बन मुद्धा लगायतका कसुरमा अदालतबाट दोषी ठहर भएका अभियुक्तलाई पक्राउ गरिएको बताउनुभयो ।
उहाँका अनुसार प्रहरीले फरार अभियुक्त पक्राउ अभियान अन्तर्गत सवारी ज्यान मुद्धामा अदालतबाट २ वर्ष कैद फैसला भएका कृष्ण बहादुर बिक, सवारी ज्यान मुद्धामै १३ दिन कैद फैसला भएका मोक्तान चौधरी, लेनदेन मुद्धामा दोषि ठहर भएर २ वर्ष कैद फैसला भएकी सुनमाली घर्ती, सोहि मुद्धामै १० दिन कैद फैसला भएका दिल कुमार पुन मगर, १ दिन कैद फैसला भएका लालबहादुर पुनलाई पक्राउ गरेको छ ।
यस्तै बन मुद्धामा २० हजार ४६२ जरिवानासहित १५ दिन कैद फैसला सुनाइएका तिलकराम चौधरी, बैंकिङ कसुरमा १० दिन कैद फैसला सुनाइएका केशव सुवेदी, चिरान काठ मुद्धामा १ दिन कैद सजाय फैसला भएका किरण बुढालाई पक्राउ गरिएको डिएसपी तिमल्सिनाले जानकारी दिनुभयो ।
यसैगरी अखेटो प्रहार (प्रतिवन्धित जंगली जनावर मारेको) अभियोगमा २ हजार जरिवानासहित ८ महिना कैद फैसला सुनाइएका शिवराज नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै पाँच वटा मोबाइल चोरीको अभियोगमा ६ हजार जरिवानासहित ४० दिन कैद फैसला भएका सुरज वादी र चोरी मुद्धामा १० हजार जरिवानासहित १० महिना २९ दिन कैद फैसला भएका दिनेश नेपालीलाई पक्राउ गरिएको प्रवक्ता तिमल्सिनाले जानकारी दिनुभयो । उहाँले कुनै पनि अपराधमा संलग्न भएर लुकिछिपी बसेको भए खबर गरिदिन पनि आम नागरिकलाई अनुरोध समेत गर्नुभएको छ ।