२०८१ मङ्सिर २३ गते आइतवार

दाङमा खोलाले दुई वटा अटो बगाउँदा दुई जना वेपत्ता, चार जनाको सकुशल उद्धार


दाङ, १९ साउन । दाङमा खोलाले दुई वटा अटो बगाउँदा दुई जना वेपत्ता भएका छन् भने चार जनालाई सकुशल उद्धार गरिएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाका अनुसार तुलसीपुर-४ मा बेतने खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका-४ खाद्रेका अन्दाजी ५५ वर्षकी सीता आले र सुर्खेत घर भई हाल तुलसीपुर-४ खाद्रेमै बस्ने अन्दाजी १७ वर्षिय मन्जु खड्का वेपत्ता हुनुभएको हो ।

शुक्रबार राती करिब सवा ८ बजेको समयमा तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको अटोलाई बेतने खोलाले बगाएको हो । अटोमा पाँच जना सवार रहेको र चालकसहित तीन जना सकुशल उत्रन सफल भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अटो चालक तुलसीपुर-४ खाद्रे ४६ वर्षका हरीकिशन बिक, सोहि ठाउँका अन्दाजी ३४ वर्षको सुनिता थापा र ७ वर्षका सुशान्त आले सकुशल उत्रन सफल हुनुभएको हो ।

वेपत्ताको अहिले पनि खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ । यस्तै स्थानीय कालाखोलाले अटो बगाउँदा वेपत्ता भएका चालकको सकुशल उद्दार गरिएको छ ।

तुलसीपुर-घोराही सडकखण्ड अन्तरगत तुलसीपुर-७ मा पर्ने कालाखोला शुक्रबार गएराती करिब साढे ९ बजेतिर रा १ ह २३५७ नम्बरको अटो बगाएको हो ।

तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको अटोलाई बगाउँदा वेपत्ता भएका चालक तुलसीपुर-७ पर्सेनिका २२ वर्षका दुर्गा बहादुर पुनलाई सकुशल उद्दार गरि अस्पताल लगिएको वडा अध्यक्ष रामबहादुर जिसीले बताउनुभयो ।

पुनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भईरहको प्रहरीले जनाएको छ । उहाँका अनुसार बेतने खोलाले स्थानीय दस्तु चौधरीको चार वटा सुँगुर बगाएको छ ।

प्रकाशित मिति : २०८१ साउन १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस