
दाङ, १३ साउन । गतवर्ष मोटरसाइकल दुर्घटनामा परी निधन भएका छोराको संझनामा तुलसीपुरमा एक दम्पतिले मलामी पतिक्षालय निर्माण गरेका छन् । तुलसीपुर–८ दुधेना निवासी कमानसिं घर्तीमगर र प्युमाली घर्ती मगरले छोरा स्वर्गिय गगन घर्तीमगरको संझनामा मलामी प्रतिक्षालय निर्माण गर्नुभएको हो ।
घर्तीमगर दम्पतिले तुलसीपुर–९ अंगेरे खोला घाटमा मलामी प्रतिक्षालय निर्माण गर्नुभएको हो । छोराको संझनामा शब दाहस्थल (मसानघाट) मा मलामीलाई सहजताका लागि करिब ५ लाखको लागतमा मलामी प्रतिक्षालय निर्माण गरिएको कमानसिं घर्तीमगरले बताउनुभयो । प्रतिक्षालय निर्माणका लागि जग्गादाता लालबिर खड्काले जग्गा सहयोग गर्नुभएको उहाँले बताउनुभयो ।
गतवर्ष २०८० साउन १३ गते तुलसीपुर–२ बालापुरमा गगनको १८ वर्षको उमेरमा मोटरसाइकल दुर्घटनामा परी निधन भएको हो । २०६२ साउन १६ गते जन्मिएका गगनको मोटरसाइकल दुर्घटनामा निधन भएपछि घर्ती दम्पतिले स्वर्गिय छोराको स्मृतिमा मलामी प्रतिक्षालय निर्माण गर्नुभएको हो । गगन उहाँको छोरा एकमात्रै हुनुहुन्थ्यो ।
प्रतिक्षालयको आइतबार तुलसीपुर–९ का वडा अध्यक्ष घनश्याम ढकाल र तुलसीपुर–८ का वडा अध्यक्ष धर्मराज वलीले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो । वडा अध्यक्ष ढकालले प्रतिक्षालयमा उज्यालोका लागि सोलार र मसानघाटसम्म पुग्ने बाटोको स्तरोन्नतीमा वडाले आवश्यक बजेट व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले प्रतिक्षालयको संरक्षणमा स्थानीयले चासो दिनुपर्ने बताउनुभयो ।
वडा नम्बर ८ का अध्यक्ष वलीले जन्मेपछि मृत्यु निश्चित भएपनि गगनको निधन निकै दुखान्त भएको भएको बताउनुभयो । उहाँले छोराको स्मृतिमा प्रतिक्षालय निर्माण गर्ने परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।