दाङ, ११ साउन ।नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले लामो समयसम्म विद्युत महशुल नबुझाउने ग्राहकलाई कालोसूचीमा पारेको छ । प्राधिकरणले विद्यूत महशुल नबुझाउने १३ ग्राहकलाई कालोसूचीमा राखेको हो ।
चालुवर्षको अहिलेसम्म १३ ग्राहक कालोसूचीमा परेको तुलसीपुर वितरण केन्द्र प्रमुख शिव नारायण गोशलीले बताउनुभयो । कालोसूचीमा परेका १३ ग्राहकबाट २ लाख ९३ हजार १०३ महशुल गर्न बाँकी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार कालोसूचीमा पर्ने ग्राहकहरु संस्थागतभन्दा निजि बढी रहेका छन् ।
बितेको आर्थिक वर्ष २०८०÷२०८१ मा कालो सुचीमा रहेका ९ ग्राहकले तुलसीपुर वितरण केन्द्रबाट पुन ः विद्युत जडान गरेका छन् । जसबाट ४ लाख २ हजार ४०६ बक्यौता महशुल असुल गरिएको छ ।
प्रमुख गोशलीका अनुसार विद्युत लाइन काटिएको ६ महिनासम्म पनि महशुल नबुझाउने ग्राहकलाई कालो सूचीमा राख्ने गरिएको छ । प्राधिकरणले दुई महिनासम्म विद्युत महशुल नबुझाउने ग्राहकको लाइन स्वत : काट्ने गरेको छ ।
प्राधिकरणले अब थप ६३ ग्राहकलाई कालो सूचीमा राख्ने तयारी गरेको प्रमुख गोशलीले बताउनुभयो । जसबाट १३ लाख २४ हजार ४ सय ५८ विद्युत महशुल उठाउन बाँकी छ ।




