२०८१ मङ्सिर २३ गते आइतवार

समयमै अस्पताल ल्याएपछि बालिकाको जोगियो ज्यान

दाङ, ८ साउन । तुलसीपुर-१२ कौवापुरमा डेरा गरी बस्दै आएकी सल्यानको बागचौर नगरपालिका वडा नम्बर ८ की लक्ष्मी चन्दको साढे ३ वर्षिय छोरी सिर्जना चन्दलाई मंगलबार बिहान ४ बजेतिर गोमन कोब्रा सर्पले डस्यो ।

रातीमा सुतिरहेकी छोरीलाई अचानक सर्पले टोकेपछि उहाँले तत्कालै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउनुभयो । तर छोरी बेहोस अवस्थामा भएकाले उपचार संभव छैन् कि भन्ने उहाँमा निराशा थियो । अस्पतालमा डाक्टरले उपचार गरेपछि भने बालिकाको अहिले अवस्था सामान्य अवस्थामा उपचार चलिरहेको छ । ‘अस्पतालमा ल्याउँदा छोरी बहोस अवस्थामा थिइन् ।’ उहाँले भन्नुभयो-‘उपचार हुँदैन कि भन्ने चिन्ता थियो, तर डाक्टरको प्रयासले छोरीको ज्यान जोगिएको छ ।’

उहाँले समयमै अस्पताल नल्याएको भए बालिकाको उपचारमा कठिनाई हुने उपचारमा संलग्न डाक्टर रोशन गुप्ताले बताउनुभयो । ‘बालिका बेहोस अवस्थामा थिइन, तर उहाँले छोरीलाई समयमै अस्पतालमा ल्याएका कारणले उपचार संभव भएको छ ।’ उहाँले भन्नुभयो-‘कतिपय बिरामी अस्पतालमा आउँदासम्म ढिला भइसकेको हुन्छ । कारण के भने झारफुकमा लाग्नुहुने रहेछ । अनि अस्पताल आउँदासम्म ढिलाई भइसकेको हुन्छ ।’

राप्ती प्रादेशिक अस्पतालका अनुसार बितेको आर्थिक वर्ष २०८०/२०८१ मा मात्रैे विषालु सर्पले टोकेका ११ जनाको उपचार भएको छ । अस्पतालका इमरजेन्सी शाखाका इन्चार्ज धन बहादुर केसीले सर्पले टोकेपछि तत्काल उपचारका लागि अस्पताल आउँदा बिरामीको ज्यान जोगिने बताउनुभयो । ‘हामी कहाँ सर्पदंशको उपचारका लागि सबै पूर्वाधार पर्याप्त छन्, एन्टी स्नेक भेनम पनि छ, आवश्यक परेको खण्डमा भेन्टीलेटर पनि छ । विषालु सर्पले टोकेका सबै बिरामीको उपचार संभव छ । ’ उहाँले भन्नुभयो-‘सर्पले टोकेपछि झारफुकमा होइन, बरु समयमै अस्पताल ल्याउने काम गर्नुपर्छ ।’

लामो समयदेखि सर्पको उद्धार गर्दै आएका सर्प उद्धारकर्ता प्रभात भण्डारीले सबै सर्प बिषालु नहुने अनि ति अविषालु सर्पले टोकेका बिरामीको झारफुक गरेर निको भएको लाग्ने बताउनुभयो । ‘विषालु सर्पले टोकेको रहेछ भने त झारफुकमा लाग्दा ज्यानै जान्छ ।’ उहाँले भन्नुभयो-‘त्यसैले सर्पले टोकेपछि झारफुकमा होइन्, जतिसक्दो छिटो अस्पताल लैजानुपर्छ ।’ सर्पले टोकेपछि बिरामीलाई झारफुकमा समय खर्चदा बिरामीको ज्यान जाने गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस