
दाङ, ७ साउन । दाङमा आज र भोलि भारी वर्षाको संभावना छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार दाङमा दुई दिन भारी वर्षा हुने अनुमान गरिएको हो । जिल्ला प्रशासन कार्यालयले बाढी पहिरोको जोखिम क्षेत्रका नागरिकलाई सचेत रहन समेत आग्रह गरेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ छ । देशभर साधारणतया बदली रहेको छ ।
अहिले लुम्बिनी प्रदेशसहित कर्णाली, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको भनाइ छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।