
दाङ, २२ असार । दाङमा मिनिट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–१ भालुवाङमा मिनिट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।
शनिबार बिहान करिब १२ बजेतिर पश्चिमबाट पुर्व जाँदै गरेको रा १ ख २०६३ नम्बर मिनिट्रकले पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु १४ प ४१९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे निवासी ४४ वर्षिय सन्तोष कुमार योगीको मृत्यु भएको हो ।
गम्भीर घाइते योगीको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । ठक्कर दिने र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मृतक योगी राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीमा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसमा कार्यरत रहनुभएको थियो ।