२०८३ भाद्र १८ गते बिहिवार

जीप दुर्घटनाका घाईतेको बयान- ‘चालकले जिप रोकेर पहिरो हेर्न जाँदा व्याक भएर भिरबाट खस्यो ।’

रोल्पा, १८ असार । रोल्पामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा माडी गाउँपालिका- ३ तालावाङका ३३ वर्षीया जुनमाया खड्का, ७७ वर्षीय खडकबहादुर डाँगी, माडी गाउँपालिका- ३ दाबाङकी ३० वर्षीया अमृता घर्ती, उहाँकी १८ महिनाकी छोरी रहेको रोल्पा जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिनुभयो ।

यस्तै, परिवर्तन गाउँपालिका- २ राङ्सीकी ३३ वर्षीया रामकली पुन र परिवर्तन-३ का ७० वर्षीय झुपलाल डाँगी, परिवर्तन-३ का ५० कणर् घर्ती मगरको पनि दुर्घटनामा मृत्यु भएको छ ।

माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ३ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर माडी-४ को परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको हो । जिप सडकबाट करिब चार सय मिटर तल पुगेको प्रहरीले जनाएको छ ।

घाईते हुनेमा गाडी चालक परिवर्तन-६ का ४५ वर्षिय दिपक थापा, माडी-३ का कर्म बुढामगर, बर्माली घर्ती मगर, खगेन्द्र बाँठा मगर, प्रतिभा बुढामगर, दिल कुमारी घर्ती मगर, माडी-२ का हिटलर खड्का र गंगादेव-७ का नैनसिंह पुन रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

घाईते खगेन्द्र बाँठाका अनुसार जिप स्टार्टमै रोकेर चालक अगाडि पहिरो हेर्न जाँदा ब्याक भएर भीरबाट खसेको हो । ‘अगाडि बाटोमा पहिरो देखेपछि चालक जिप स्टार्टमै छाडेर हेर्न गए, हामी जिपभित्रै थियौं ।’ उहाँले भन्नुभयो-‘एकैछिनमा गाडी विस्तारै ब्याक हुन थाल्यो । तत्कालै चालक दौडिँदै आई जिपमा चढेर ब्रेक लगाउन खोजे । तर, जिपको पछाडिको चक्काले सडक छाडिसकेकाले रोकिएन । म हामफालेर बाँचें, जीप भिरमा बजारिँदै खस्यो ।

प्रकाशित मिति : २०८१ असार १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस