२०८३ असार १३ गते शनिवार

जीवनज्योति नमुना मावि रिममा २० जनाले गरे, रक्तदान

सल्यान, ३२ जेठ ।
रगतको मागलाई सहज बनाउन सल्यानमा २० जनाले रक्तदान गरेका छन् । कपुरकोट गाउँपालिका वडा नम्बर ५ रिममा रहेको जीवन ज्योति नमुना माविमा २० जनाले रक्तदान गरेका हुन् ।

रक्तदान नै जीवनदान हो भन्ने सोचका साथ विद्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक भूपाल साहुले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा शिक्षक, बुद्धिजीवी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, समाजसेवी लगायतले रक्तदान गरेको उहाँले बताउनुभयो ।

२० औँ विश्व रक्तदाता दिवसको अवसरमा जीवन ज्योति नमुना मावि रिम र नेपाल रेडक्रस सोसाइटी उपशाखा रिमको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा रिमका सभापति शिवराज विकको अध्यक्षता तथा कपुरकोट गाउँपालिका उपाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि भण्डारीले कसैको जीवन रक्षाका लागि रक्तदान गर्नु महत्वपूणर् कार्य भएको बताउनुभयो । उहाँले रक्तदान गर्ने सोचको विकास सबैमा पुग्नुपर्नेमा जोड दिनुभयो । रक्तदान गरेपछि कमजोर भइन्छ कि भन्ने सोचलाई हटाउनुपर्ने उहाँको भनाई छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस