
दाङ, २ जेठ । उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई निर्दोष ठहर गरेको छ ।
न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई निर्दोष ठहर गरेको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिनुभयो ।
दुई दिनसम्म दुवै पक्षका वकिलको दुई दिन लामो बहस सकिएसँगै उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै लामिछानेलाई सफाइ दिएको हो ।
फैसालअघि अन्तिम निणर्यका लागि न्यायाधीशहरूले इजलासमै सीसीटीभी फुटेज हेरेका थिए । इजलासमा फुटेज बजाउन समस्या भएपछि उच्च अदालत प्रशासनले बाहिरबाट प्राविधिकसमेत झिकाइएको थियो ।
यसअघि २०८० पुस २५ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीशले पनि सन्दीपलाई बलात्कार प्रकरणमा दोषी ठहर गर्नुअघि उक्त सीसीटीभी फुटेज इजलासमै हेरेका थिए ।
न्यायाधीशद्वयले आजै फैसला दिने गरी दुवै पक्षका वकिलहरूलाई समय निर्धारण गरिदिएर बहसमा बोलाएका थिए । दुवै पक्षका वकिललाई न्यायाधीशहरूले डेढ-डेढ घण्टाको समय दिएका थिए ।
यसअघि यो मुद्दामा सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी र रमन श्रेष्ठ, शम्भु थापा, मुरारी सापकोटा र कृष्ण सापकोटालगायतले बहस गरेका थिए ।
उनीहरूले सन्दीपलाई दोषी ठहर गर्ने काठमाडौं जिल्ला अदालतको फैसलामा पनि प्रश्न उठाएका थिए ।
पीडित भनिएकी युवती गौशाला-२६ को तर्फबाट सरकारी वकिल र निजी कानुन व्यवसायीले बहस गरेका थिए । उनीहरूले जिल्लाको सजाय अझै कम भएको जिकिर गरेका थिए ।
२०८० पुस २५ गते जिल्ला अदालत काठमाडौंले जबर्जस्ती करणी मुद्दामा सन्दीलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा २ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।
सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले फैसला गरेको थियो । तर फैसला चित्तबुझ्दो नभएको भन्दै लामिछाने पुनरावेदनका लागि उच्च पुग्नुभएको हो ।