तुलसीपुर, १५ चैत । दाङको तुलसीपुर नगरस्तरीय खसी कप फूटबल प्रतियोगिता बिहिबारदेखि शुरु भएको छ । तुलसीपुर-७ को गैराखाली खेल मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन तुलसीपुर-७ का कार्यवाहक वडाध्यक्ष शोभाराम भण्डारीले गर्नुभएको छ ।
फोकस क्लब तुलसीपुर-७ तमाखेको आयोजनामा सञ्चालन गरिएको प्रतियोगितामा विभिन्न वडाका १० वटा समूह उपस्थित भएको आयोजकले जनाएको छ । प्रतियोगिताको पहिलो दिन आज तीनवटा खेल सञ्चालन भएका छन् । प्रतियोगिताको पहिलो खेल मुनाल क्लब तुलसीपुर-४ र टिआरसी क्लब तुलसीपुर-७ बीच भएको थियो । जसमा मुनाल क्लब १-० ले बिजयी भएको छ ।
त्यस्तै दोस्रो खेल आयोजक फोकस क्लब ‘बी’ र तुलसीपुर-५ रानीजरुवाको टिएसएस क्लबबीच भएको थियो । उक्त खेलमा टिएसएस ३-० ले बिजयी भएको छ भने पहिलो दिनको अन्तिम खेल तुलसीपुर-४ का खाद्रे युथ्स क्लब र वाईवाईसी क्लब बिच भएको थियो । खेल निर्धारित समयसम्म बराबरी भएपछि पेनाल्टी सुट आउटमा वाईवाईसी क्लब बिजयी भएको छ ।
प्रतियोगितामा प्रथम हुने समूहले खसी प्रमाणपत्र र मेडल, दोस्रो हुने समूहले फूटबल प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन् भने प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी र गोलरक्षक छनौट गरी पुरस्कृत गरिने खेल संयोजक अंकित भण्डारीले जानकारी दिनुभयो । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।