दाङ, १४ चैत । दाङमा मापदण्ड विपरित संचालित दुई क्रसर र दुई बालुवा वासिङ उद्योगलाई बन्द गर्न निर्देशन जारी गरिएको छ । जिल्ला अनुगमन समितिले अवैधरुपमा संचालित उद्योगलाई बन्द गर्न निर्देशन जारी गरेको हो ।
खोलामै सार्वजनिक जग्गा मिचेर उद्योग स्थापना गरिएको, सरकारलाई लामो समयदेखि राजश्व नबुझाएको, दर्ताका लागि आवश्यक प्रक्रिया पूरा नगरेको लगायतका कारण चार वटा उद्योगलाई बन्द गर्न निर्देशन जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो ।
जिल्ला अनुगमन समितिको बैठकले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ ग्वारखोलामा रहेको जनविश्वास कंक्रिट उद्योग, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ हलवारस्थित ग्वारखोलामा रहेको न्यु राप्ती क्रसर उद्योग, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ टिकरीमा रहेको राप्ती बालुवा वासिङ उद्योग र बबई गाउँपालिका—६ मा रहेको क्रिपाभिज्ञ बालुवा वासिङ उद्योगलाई बन्द गर्ने निणर्य गरेको हो ।
बन्द गर्न निर्देशन जारी गरिएका उद्योगको सम्पूणर् सामग्रि स्थानीय सरकारको हुने प्रजिअ सुवेदीले बताउनुभयो । उहाँले सोहि अनुसार स्थानीय सरकारले सम्पूणर् सामग्रि जफत गरी बिक्रि वितरण गर्ने बताउनुभयो । यस्तै उद्योगहरुबाट अबैध रुपमा संकलन गरिएका नदिजन्य पदार्थ बिक्रि वितरण गर्न पत्राचार गर्ने पनि निणर्य भएको अनुगमन समितिले जनाएको छ ।
जिल्ला अनुगमन समितिले बुधबार दाङका १० वटा उद्योगको अनुगमन गरेको छ । अनुगमन गरिएका १० मध्ये चारवटा नदिजन्य उद्योगलाई बन्द गर्ने निणर्य गरेको हो । यस्तै अन्य छ उद्योगहरुलाई आवश्यक कागजात पेस गर्न र मापदण्ड अनुरुप व्यवस्थित भएर संचालन गर्न निर्देशन जारी गरिएको उहाँले बताउनुभयो ।
अनुगमन समितिले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ सक्रामखोलास्थीत स्वर्गद्धारी स्क्रीन प्लान्ट प्रालि, भाग्यलक्ष्मी क्रसर उद्योग प्रालि, तुलसीपुर के एन्ड एस वालुवा प्रशोधन प्रालि ग्वारखोला, समावेशी क्रसर उद्योग तुलसीपुर-१६ ग्वारखोला, मंगलम वालुवा वासिङ उद्योग तुलसीपुर-१२, गणेश वालुवा प्रसोधन उद्योग तुलसीपुर-११ सुकौरा र घोराही उपमहानगरपालिका हापुरखोलास्थीत शिवाज दाङ कंक्रिट उद्योग प्रालिमा स्थलगत अनुगमन गरेको थियो ।