२०८१ माघ ८ गते मङ्गलवार

बनलाई उद्यमशिलतासंग जोड्न सरोकारवालाको चासो

दाङ, २ चैत । आर्थिक रुपान्तरणका लागि सामुदायिक बनलाई उद्यमसंग जोड्नुपर्नेमा सरोकारकावालाले चासो दिएका छन् । संविधानमा प्राकृतिक स्रोत जल,जमिन र जंगलको उपभोग गर्ने अधिकार भएपनि व्यवहारिकरुपमा कार्यान्वयन हुन नसकेकोमा उनीहरुले चिन्ता व्यक्त गरेका हुन् ।

बागमती प्रदेश सभा सदस्य तथा सामुदायिक बन उपभोक्ता महासंघका पूर्व अध्यक्ष भारती पाठकले सामुदायिक बनका उपभोक्तालाई आर्थिकरुपमा सक्षम बनाउन प्राकृतिक स्रोतलाई उद्यमसंग जोड्नुपर्ने बताउनुभयो ।

ग्रिन फाउण्डेशन नेपालका अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिका निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले बनको संरक्षणले आर्थिक रुपान्तरण गर्न सकिने र जलवायु असरबाट बचाउन सकिने बताउनुभयो ।

उहाँले देशभरका एक सय बढी पालिकामा बन ऐन बनाएर कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न बन पैदावार गरी उद्यमको विकास गर्न सकिने बताउनुभयो ।

उहाँले बनबाट नेपालमा करिब १० लाख युवाहरुलाई रोजगारी दिन सकिने भएपनि व्यवहारमा कार्यान्वयन नभएको बताउनुभयो । काठ, जडिबुटीको उपयोग गरी आर्थिक विकास संभव रहेछ भन्ने देखाउन तालिमको आयोजना गरिएको बताउनुभयो ।

भावि पुस्ताको नाममा वर्तमान पुस्ता मर्न नहुने भन्दै उहाँले बन जोगाउँदै बनबाट आर्थिकोपार्जन गर्न सकिने बताउनुभयो । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष शुक्रराज भण्डारीले नागरिक उद्यमी नबन्दासम्म देशमा आर्थिक रुपान्तरण हुन नसक्ने बताउनुभयो ।

उहाँले देशमा अहिले आम्दानीभन्दा खर्च बढी भइरहेको अवस्थामा उद्यमशिलता आवश्यक रहेको बताउनुभयो । उहाँले सामुदायिक बनबाट उपभोक्ताले लाभ लिने गरी कार्ययोजना बन्नुपर्ने बताउनुभयो ।

ग्रिन फाउण्डेशन नेपालको आयोजनामा सामुदायिक बनको कार्ययोजना निर्माण, डाटा पोर्टल तथा उद्यम विकास सम्बन्धि तालिम शुक्रबारदेखि दाङको तुलसीपुरमा शुरु गरिएको हो । चार दिनसम्म संचालन हुने तालिमको उद्घाटन बागमती प्रदेश सभा सदस्य पाठकले उद्घाटन गर्नुभएको हो ।

ग्रिन फाउण्डेशन नेपाल दाङका अध्यक्ष बिष्णुबहादुर केसीको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य पाठकको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन कार्यक्रम भएको हो । उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशिखा चौधरीले बनलाई आर्थिक रुपान्तरणमा लैजान ग्रिन फाउण्डेशनले महत्वपूणर् भूमिका खेलेको बताउनुभयो ।

सामुदायिक बन उपभोक्ता महासंघ दाङका उपाध्यक्ष चन्द्रबहादुर वलीले स्थानीय स्रोत साधनको प्रयोग गरी आर्थिक विकास गर्न सकिने बताउनुभयो । स्थानीय बन महासंघ तुलसीपुरका सचिव रक्षा काफ्लेको स्वागत मन्तव्यबाट शुरु भएको तालिम उद्घाटनको सहजीकरण अरबिन पौडेलले गर्नुभएको हो । तालिममा बन विज्ञानको अध्ययन गरिरहेका २६ जनाको सहभागीता रहेको छ ।

प्रकाशित मिति : २०८० चैत्र २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस