२०८१ मङ्सिर २३ गते आइतवार

आत्महत्या न्यूनिकरणमा जोड

दाङ, २१ फागुन । दाङमा आत्महत्याको समस्या विकराल बन्दै गएको छ । वैदेशिक रोजगार, सम्बन्ध विच्छेद, लागुऔषध दुव्र्यसन लगायतका कारण आत्महत्याका घटना वर्सेनि बढ्दै गएका छन् । प्रहरीको तथ्यांक अनुसार दाङमा तीन वर्षको अवधिमा ७ सय जनाले आत्महत्या गरेको देखिएको छ ।

आर्थिक वर्ष २०७७/२०७८ देखि बितेको आर्थिक वर्षसम्ममा ७ सय जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७७/२०७८ मा २४७ जना, आर्थिक वर्ष २०७८/२०७९ मा २२५ र बितेको आर्थिक वर्षमा २२८ जनाले आत्महत्या गरेको देखिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवराज केसीले बताउनुभयो ।

तीन वर्षको तथ्यांकलाई विश्लेषण गर्दा दुई दिनमा एकभन्दा बढीले आत्महत्या गर्ने गरेको देखिएको छ ।

केसीले आत्महत्या गर्नका कारण धेरै भएपनि ९५ प्रतिशत व्यक्तिहरुले मानसिक रोगी भएको तथ्याङकले देखाएको बताउनुभयो । उहाँले बाँकी ५ प्रतिशत व्यक्तिहरुले अचानक आत्महत्याको प्रयास गर्ने गरेको बताउनुभयो ।

केसीले विश्वमा दिनमा ३ हजार जनाले आत्महत्या गर्ने गरेको बताउनुभयो । आत्महत्या रोकथामका लागि तुलसीपुरमा पत्रकार र प्रहरीलाई अभिमूखीकरण गरिएको कार्यक्रममा उहाँले आत्महत्या विभिन्न कारणले हुने भन्दै यसलाई रोक्ने उपायहरु समेत रहेको बताउनुभयो ।

त्यस्तै राप्ती प्रादेशिक अस्पतालका मनोसामाजिक विमर्शकर्ता डिला भुसालले विभिन्न कारणले आत्महत्या गर्ने गरेको भन्दै आत्महत्या रोकथामका लागि समाज, व्यक्ति र परिवारले अपनाउनुपर्ने उपायको बारेका जानकारी गराउनुभयो ।

उहाँले आत्महत्या गर्ने शंका लागेका व्यक्तिहरुको हरेक गतिविधिलाई नजिकबाट नियाल्ने र केही अनौठो महसुस गरेमा तुरुन्त डाक्टरलाई जानकारी गराउने, आत्महत्या निरुत्साहितका लागि सहयोगी बन्नुपर्नेमा जोड दिनुभयो ।

अस्पतालका वरिष्ठ नर्सीङ प्रमुख सविता कौशलले लैंगिक हिंसाका कारण पनि आत्महत्या गर्ने गरेको बताउनुभयो । उहाँले एकद्धार व्यवस्थापन केन्द्र (ओसिएमसी)ले हिंसा पीडित तथा प्रभावित व्यक्तिहरुलाई स्वास्थ्य उपचार लगायत आवश्यक सेवा एकद्धारबाट उपलब्ध गराउने गरेको बताउनुभयो ।

कार्यक्रममा सहायक प्रहरी निरीक्षक सन्तोष आचार्य, पत्रकार बालाराम खड्का, यमकला भुसाललगायतले आत्महत्याका घटना रोक्न परिवार, समाज चनाखो बन्नुपर्ने बताउनुभयो । कार्यक्रमको सहजिकरण एकद्धार व्यवस्थापन केन्द्र (ओसिएमसी )का फोकलपर्सन धनबहादुर केसीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस