दाङ, ३ फागुन । अन्य दिन झैँ बिहिवार साँझ ६ बजेदेखि १० बजेसम्म २६ वर्षिय प्रहरी जवान धनमाया थापाको डिउटी घोराहीको मूख्य बजार दामोदर चोकमा थियो ।
साँझको करिब आठ बजिसकेको थियो । बजारको चहलपहल कम भईसकेको थियो । मुख्य बजारमै भएकाले चारैतिर बलेको बत्तीको उज्यालो थियो । रात छिप्पिदै जाँदा कोलाहल कम हुँदै गएको थियो ।
धनमायासंगै अरू प्रहरी जवान पनि थिए । करिब साढे ८ बजेतिर अचानक उनीमाथि गोलि चल्यो । तीन राउन्ड गोलि चलाएर पल्सर मोटरसाईकलमा आएका युवा फरार भए । गोलि धनमायाको छाति र कोखामा लागेको छ ।
लगत्तै उनलाई राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा लगियो । गोली प्रहार भएको करिब १० मिनेटपछि उनको निधन भयो । उनको हत्या गर्ने अरू कोही थिएन । श्रीमानले नै उनको हत्या गरेका थिए । नागरिकको सुरक्षार्थ खटिने धनमाया बिहिवार भने श्रीमानबाटै असुरक्षित भईन् ।
प्रहरीले हत्यामा संलग्न ३५ वर्षिय यमबहादुर झाँक्रीलाई भे १२ प ११५० नम्बरको पल्सर मोटरसाईकलसहित पक्राउ गरिसकेको छ । उनलाई लमहीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिए ।
यमबहादुर पनि प्रहरी जवान हुन् । धनमाया वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत थिईन । उनको विवाह प्युठानको नौबहिनी गाउपालिका वडा नम्बर ४ खबाङका झाँक्रीसंग भएको थियोे । यमबहादुरको प्रहरी सहायक हवल्दारको पदमा नेपाल प्रहरी आवासीय मावि घोराहीमा दरबन्दी थियो तर उनी कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत नेपालगञ्ज बाँकेमा कार्यरत रहेका थिए ।
प्रहरी स्रोतका अनुसार धनमाया श्रीमानसंग अलग हुन खोजेकी थिईन । उनले डिभोर्सका लागि दाङ जिल्ला अदालतमा मुद्दा समेतलहालेकी थिईन् । अपराधको मुख्य कारण नै यहि मानिएको छ । उनको माईति सुर्खेतको पञ्चपुरी नगरपालिका -९ विद्यापुर हो ।
उनीहरुको सानो छोरी रहेकी छन् । छोरी मामाघरमा बस्दै आएकी छन् । दाङमा प्रहरीबाटै श्रीमतीको हत्या भएको दोस्रो घटना हो । यसअघि पनि घोराहीमै गत माघ २१ गते बिहान प्रहरीले श्रीमती र नाबालक छोराको हत्या गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेका थिए ।
उनी भने श्रीमती र छोराको हत्यापछि आफैं प्रहरी कार्यालयमा उपस्थित भएका थिए । उनि अहिले पूर्पक्षका लागि कारागारमा छन् ।