२०८१ बैशाख ११ गते मङ्गलवार

आफन्तबाटै असुरक्षित : साढे तीन वर्षमा ५४ जनाको हत्या

दाङ, २२ माघ । दाङमा एक पछि अर्को हत्याजस्तो जघन्य अपराधका घटना हुन थालेका छन् भने अधिकांश हत्या अपराधमा आफन्तकै संलग्नता हुने गरेको छ । दाङमा साढे तीन वर्षको अवधिमा ५४ जनाको हत्या भएको छ ।

ति मध्ये अधिकांश हत्या अपराध आफन्तबाटै भएको देखिएको प्रहरीले जनाएको छ । प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/२०७८ देखि चालुवर्षको माघ २१ गतेसम्ममा ५४ जनाको हत्या भएको छ ।

आर्थिक वर्ष २०७७/२०७८ मा १९ जनाको हत्या भएको छ । यस्तै आर्थिक २०७८/२०७९ मा १७, बितेको आर्थिक वर्ष २०७९/२०८० मा ९ र चालुवर्षको साढे ६ महिनाको अवधिमा ९ जनाको हत्या भएको छ ।

धारिलो हतियार प्रहार गरी, घाँटी थिचि, कुटपीट गरी, गोलि प्रहार गरी, ढुंगामुडा , लाठी प्रहार गरी, डोरीले बाँधेर, विष खुवाएर , धकेलेर हत्या भएको देखिएको प्रहरीको रेकर्डले देखाएको छ । हत्या अपराधमा संलग्न महिलाको तुलनामा पुरुष बढी देखिएका छन् ।

प्रहरीको तथ्यांक अनुसार साढे तीन वर्षको अवधिमा हत्या अपराधमा १९ जना महिला संलग्न देखिएका छन् भने पुरुष १०३ जना संलग्न भएको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले हत्या अधिकांश हत्या अपराधका घटनामा आफन्त नै संलग्न हुने गरेको देखिएको बताउनुभयो । बाहिरका व्यक्तिबाट भन्दा पनि घर परिवार, छर छिमेकीबाटै हत्या अपराधका घटना हुने गरेका छन् ।

प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस