२०८१ मङ्सिर २३ गते आइतवार

शान्ति नमुना महिला संसदलाई ब्युँताउने तयारी

दाङ,२१ माघ । तुलसीपुरमा शान्ति नमुना महिला संसद संचालन गरिने भएको छ ।

महिलालाई हरेक ठाउँमा अर्थपूर्ण सहभागिता बढाउन र महिलाको नेतृत्व विकासका लागि शान्ति नमुना महिला संसद संचालनको तयारी अघि बढेको हो ।

तुलसीपुर उपमहानगरपालिकाको सहयोगको नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्यूसीपीसी) ले जनप्रतिनिधि महिला र सरोकारवालाको सहभागितामा शान्ति नमुना महिला संसद संचालन गर्न लागेको हो ।

केन्द्रका अध्यक्ष नवराज लामिछानले संसदको झल्को दिने गरी शान्ति नमुना महिला संसद संचालन गर्न लागिएको जानकारी दिनुभयो ।

संस्थाले १५ वर्ष अघि २०६५ सालमा पनि सोहि कार्यक्रम संचालन गरेपछि धेरै महिला नेतृत्व तहमा आउन सफल भएको बताउँदै उहाँले अहिले पनि शान्ति नमुना महिला संसद संचालनको तयारी अघि बढेको बताउनुभयो । करिब ७२ जनाको सहभागीतामा संसद संचालन गरिने अध्यक्ष लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार तुलसीपुर उपहानगरपालिकाका १९ वटै वडाका ३८ जना महिला जनप्रतिनिधि, विज्ञताका आधारमा २० जना छनौट गरिने र १४ जना पर्यवेक्षक, मर्यादापालक, विज्ञ लगायतकाको सहभागीता हुनेछ ।

सभामुख सहित ५८ जनाले संसद संचालन गर्ने उहाँले बताउनुभयो । १५ वर्ष अघि गठन भएको शान्ति नमुना महिला संसदको विघटन गरी नयाँ आरम्भ गर्ने तयारीका लागि आइतबार तुलसीपुरकम पहिलो बैठक बसेको अध्यक्ष लामिछानेले बताउनुभयो । संसद तीन महिनासम्म संचालन गरिने छ ।

तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले संविधानले महिलालाई कोटाको व्यवस्था गरेकाले मात्रै महिला नेतृत्व तहमा पुग्ने गरेपनि अब महिला आफै पनि प्रतिष्पर्धा गर्न सक्षम भएको बताउनुभयो ।

उहाँले अब तुलसीपुरमा संचालन हुन लागको शान्ति नमुना महिला संसदले महिलालाई नेतृत्व तहमा पुगेर नीति निर्माण बनाउने देखि कार्यान्वयनसम्ममा सफलता गराउने बताउनुभयो ।

कार्यक्रममा महिला अधिकारकर्मी शुष्मा गिरी, बबई गाउँपालिकाका निवर्तमान उपाध्यक्ष शावित्रा विश्वकर्मा लगायतले महिलालाई नेतृत्व तहमा आउन शान्ति नमुना महिला संसदको अभ्यासले महत्वपूणर् भूमिका खेलेको बताउनुभयो ।

न्यूसीपीसीका उपाध्यक्ष बिजय केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव नानुमाया केसीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० माघ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस