जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान आफ्नै परिवारको लागि निर्दयी बने । जसले गरे, नाबालक छोरा र श्रीमतीको हत्या । नेपालगञ्जबाट दाङको घोराहीमा भेट्न आएका श्रीमती र नाबालक छोरा घर फर्किन पाएनन् ।
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय नाबालक छोरा सुशान्त नेपालीको हत्या गरेर प्रहरी कार्यालयमा पुगेका छन् ।
श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताउनुभयो ।
नेपालगन्जबाट श्रीमती आएकी छिन्’ भनी शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको ग्रिन पिस होटलमा बसेका थिए ।
आइतबार बिहान ७ बजेतिर श्रीमतीसंग आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको उनी आफैंले स्वीकार गरेका छन् । ‘पिमलाल विदामा बसेका थिए तर आइतबार बिहान सात बजेतिर अचानक जिल्ला प्रहरी कार्यालयमा आएर श्रीमती र छारालाई हत्या गरेको छु भनेपछि शुरुमा विश्वास लागेन ।’ प्रवक्ता मल्लले भन्नुभयो-‘प्रहरी लगत्तै घटनास्थल पुगेपछि वास्वविकता नै रहेछ भन्ने पत्ता लाग्यो ।’
प्रहरी जवान नेपाली दुई महिना अघिमात्रै नेपालगञ्जबाट दाङ सरुवा भएर आएका थिए । उनी नेपाल प्रहरीमा जागिर खाएको १० वर्ष बढी भइसकेको छ । उनी लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए ।
सरुवा भएर दाङ आएपछि श्रीमती पनि दाङमा आएर बस्न खोजेपछि विवाद भएको प्रारम्भिक अनुसन्धान गरिएको प्रवक्ता मल्लले बताउनुभयो ।
प्रहरीलाई दिएको बयान अनुसार श्रीमती पनि दाङमै बस्ने खोजेको तर उनले नेपालगञ्ज नै बस्न भनेका थिए । तर नमानेपछि झगडा भएको थियो ।
श्रीमतीको माइती रुकुम चौरजहारी हो । घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।