![](https://ekapinews.com/wp-content/uploads/2024/01/khanepani-1550x1000.jpeg)
तुलसीपुर । बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा सहलगानी आयोजनाको काम करिब ९० प्रतिशत पुरा भएको छ । आयोजना अन्तर्गत इन्टेक, रिजरर्भ टंकी लगायतका काम पुरा भएको अध्यक्ष प्रदिप गौतमले बताउनुभयो ।
उहाँका अनुसार अहिले पानीको स्रोतलाई रिजर्भ ट्यांकीमा ल्याउने काम शुरु भएको छ । आइतबारदेखि परिक्षणका लागि २४ सैँ घण्टा पुरानो पाइपलाईनमा छोडेको अध्यक्ष गौतमले बताउनुभयो । ‘मुलबाट पानी आयो ।’ उहाँले भन्नुभयो-‘अहिले पुरानै पाइपलाईनमा कनेक्सन गरेका छौँ, अब नयाँ धारा जडान हुन्छ ।’
यसअघि धाराका लागि आवेदन दिएकाहरुको घरमा धारा जडान गर्न सकिने र नयाँले आवेदन दिन सक्ने अध्यक्ष गौतमले बताउनुभयो । २०३४ सालबाट उपभोेक्तालाई पानी वितरण गरिरकेको खानेपानी संस्थाले करिब ४ दशकपछि नयाँ सर्भे डिजाईन गरेर करिब ३१ करोडको लागतमा आयोजनाको काम अघि बढेको हो ।
अहिलेको आयोजनाको काम २०७८ भदौ ११ गतेदेखि शुरु भएको हो । आयोजनाको काम गर्ने जिम्मा मृत संजिवनी स्वामी नारायण सगुन जेभि कन्ट्रक्सन रुपन्देहीले गरेको छ । उभोक्ताको ३० प्रतिशत र नेपाल सरकारको ७० प्रतिशत लगानीमा आयोजनाको काम अघि बढेको हो ।
सहलगानी आयोजना अन्तर्गत अहिले करिब ९० प्रतिशत काम सकिएको र अब १० प्रतिशत भनेको घरमा धारा जडानको काम मात्रै बाँकी रहेको सिभिल इन्जिनियर बिक्रमबावु केसीले बताउनुभयो ।
उहाँका अनुसार मूख्य पाइपलाइन, सहायक पाइपलाइन विस्तारको काम पुरा भएको छ । यस्तै पानी प्रशोधन केन्द्र, रिजर्भ ट्यांकी निर्माणको काम पुरा भएर पनि परिक्षणका लागि पानी ट्यांकीमा झार्ने काम शुरु भएको उहाँले बताउनुभयो ।
नयाँ पानीको स्रोत रोल्पाको रुण्टीगढी गाउँपालिकाको गार्पामा छ । गार्पादेखि आउने मूख्य पाइपलाइनमा प्रति सेकेन्ड २५ लिटर पानी आउने गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६, १७, १८ र १९ मा कार्यक्षेत्र रहेको संस्थाबाट अहिले करिब १ हजार २ सय धारा वितरण छन् । नयाँ आयोजना सम्पन्न भएपछि ३ हजार ४ सय धारामा पानी वितरण हुने संस्थाले जनाएको छ ।