दाङ, १४ माघ ।
तुलसीपुर उपमहानगरपालिकास्तरिय पाचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि गोरखा मावि तुलसीपुरले जितेको छ ।
प्रतियोगितामा १८ स्वणर्, ७ रजत र ६ कास्य पदक हात पारेर साविक बिजेता गोरखा मावि तुलसीपुरले उपाधि जितेको हो ।
गुरु जजुर नमुना मावि रक्षाचौरको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा संचालित प्रतियोगितामा आयोजक गुरुजजुर ८ स्वणर्, ७ रजत र ७ कास्य पदकसहित दोस्रो भएको छ ।
प्रतियोगितामा ज्ञानज्योति मावि तुलसीपुर ६ स्वणर्, ८ रजत र ६ कास्य पदकका साथ तृतीय भएको छ ।
त्यस्तै मावि तुलसीपुर सेन्टर ६ स्वणर्, ७ रजत र ११ कास्य पदकका साथ चौथो भयो भने ग्रेट अरनिको मावि तुलसीपुर ४ स्वणर्, ५ रजत र ८ कास्य पदकका साथ पाचौँ स्थान प्राप्त गर्न सफल भएको प्रतियोगिताका सचिवालय सदस्य बालकृष्ण शाहले जानकारी दिनुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने सर्वोत्कृष्ट खेलाडी एथलेटिक्स छात्रातर्फ गोरखा मावि तुलसीपुरका करुणा रिजाल, छात्रतर्फ गुरुजजुरका विशाल महत , त्यस्तै कबडी छात्रातर्फ गुरुजजुरकै दुर्गा नेपाली, छात्रमा मावि कालाखोलाका गणेश बिक, भलिबल छात्रातर्फ ज्ञानज्योति मावि तुलसीपुरका सीता वली,छात्रतर्फ ग्रेट अरनिको माविका गणेश सुनार, तेक्वान्दो छात्रमा लिटिल हेवन मावि तुलसीपुरका बिकास केसी, छात्रामा ज्ञानज्योति माविका झरना वली, कराँते छात्रतर्फ गोरखा माविका प्रतिक न्यौपाने र छात्रातर्फ गोरखा माविकै मनिषा खड्का घोषित भए ।
तीन दिनसम्म संचालन भएको प्रतियोगितामा तुलसीपुर नगर क्षेत्रका संस्थागत र सामुदायिक गरि ३९ विद्यालयको सहभागीता रहेको थियो ।
प्रतियोगितामा मार्सल आर्ट अन्तरगतका कराँते, तेक्वान्दो, त्यस्तै भलिबल, एथलेटिक्स र कबड्डी गरि पाँच खेलमा सहभागी विद्यालयका छात्र/ छात्रा बिच कडा प्रतिस्पर्धा भएको हो ।
गुरुजजुर नमुना मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकमणी पोख्रेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काको प्रमुख आतिथ्यता एवं उपमेयर स्यानी चौधरीको विशिष्ट आतिथ्यतामा भएको हो ।
सो अवसरमा बिजेता विद्यालय र खेलाडी तथा उत्कृष्ट खेलाडीलाई शिल्ड, ट्रफी मेडल, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको छ । कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक तथा प्रतियोगिता सचिवालय संयोजक प्रमोद न्यौपानेले गरेका हुन् ।
यसैबिच २०८१ को छैठौँ राष्ट्रपति रनिङ शिल्ड गर्ने जिम्मा अमर मावि उरहरीले पाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष मानबहादुर रावत, विद्यालयका प्रधानाध्यापक पदम वली, व्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेत लगाएतले प्रतियोगिता समापन समारोहमा राष्ट्रपति रनिङ शिल्डको झण्डा ग्रहण गर्दै आगामी वर्षको रनिङ शिल्ड गर्ने जिम्मा लिएको हो ।