२०८१ मङ्सिर २३ गते आइतवार

चिसो अझै केही दिन बढ्ने भएकाले सावधानी अपनाउन अनुरोध

दाङ, १४ माघ । अझै केही दिन चिसो बढ्ने भएको छ । हिउँदको मध्य भएकाले पनि यो वर्षको जाडो अबको केही दिन उच्च बिन्दुमा पुग्ने भएको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले चिसो र शीतलहर उच्च हुने भएकाले सतर्क रहन सुझाव दिएको छ । अझै हिउँदे वर्षा हुन बाँकी रहेकाले पनि यो वर्षको जाडो लम्बिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसमविद् गोविन्द झाका अनुसार चिसो बढ्दै जाँदा दाङलगायतका प्रायः सबैतिर तापक्रममा उच्च गिरावट आएको छ । दाङको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसमा झरेको छ ।

फागुन १५ सम्मको समय हिउँदयामको मानिन्छ तर यस वर्ष जाडो धकेलिएर फागुनभर पनि चिसो हुने सम्भावना बढेको छ । वर्षा भएको खण्डमा त्यो चिसो अझ पर पूर्वमनसुनको समयसम्म धकेलिन सक्ने महाशाखाले अनुमान गरेको छ ।

अहिलेसम्म वर्षा हुने राम्रो प्रणाली नदेखिएको र भएको प्रणाली पनि आकाशको धेरैमाथि रहेको मौसमविद् झाले बताउनुभयो । हिमाली भेगको चिसो माइनसबाट तलतिर झर्ने क्रम जारी रहेको महाशाखाले जानकारी दिएको छ ।

उच्च हिमाली भेगमा हिउँ धेरै नपरे पनि चिसो बढेको छ, जसको प्रभाव तराईमा उच्च शीतलहर बनेर ओइरिएको छ । जसका कारण वायुमण्डलको पारदर्शितामा न्यूनता आउँदा हवाई उडान प्रभावित भएको छ । तराईका धेरै जिल्लामा केही दिनयता शून्य पारदर्शिता रेकर्ड भएको छ ।

प्रकाशित मिति : २०८० माघ १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस