तुलसीपुर, ११ माघ । तुलसीपुर उपमहानगरपालिका अन्तर विद्यालय स्तरिय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० आज देखि सुरु भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको समन्वय तथा गुरु जजुर मावि रक्षाचौरको आयोजनामा संचालित प्रतियोगिताको एक भव्य समारोका बिच तुलसिपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले उद्घाटन गर्नु भएको हो ।
नगरप्रमुख खड्काले मानव स्वास्थ्यको अभिन्न अंग खेलकुद राष्ट्रको पहिचान भएको बताउनु भएको छ । राष्ट्रको शान र गौरव जोडिएको सिङ्गो खेलकुद क्षेत्र विश्वसामु राष्ट्रको पहिचान स्थापित गर्ने एक दरिलो माध्यम भएकाले यसको उच्च आदर्श लाई सबैले आत्मसात गर्नु पर्ने मेयर खड्काको भनाई छ ।
खड्काले स्वास्थ्य, शारीरिक विकास र अनुशाशीत नागरिक तयार गर्न खेलकुदको अहम भुमिका रहने बताउनु भयो । उहाँले खेल क्षेत्रको विकासका लागि विद्यालय तहदेखि नै खेलका गतिविधि अगाडी बढाउनुपर्ने र यस्ता प्रतियोगिताले विद्यार्थीमा लुकेर रहेका क्षमता उजागर गरि राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा पुग्न महत्वपूणर् भूमिका खेल्ने बताउनुभयो ।
उहाँले नगर क्षेत्रको खेल विकासमा भौतिक पुर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास संयोजक मानबहादुर रावलले खेलकुदले नै राष्ट्रिय अन्तराष्ट्रियक्षेत्रमा देशलाई चिनाउने भन्दै खेलकुद क्षेत्रको विकासका लागि आफुहरु लागेको बताउनुभयो ।
उहाले विद्यार्थीहरुमा लुकेका क्षमताहरुलाई यस्ता प्रतियोगिताले स्थान दिने र खेलाडीको हौसला बढाउने बताउनुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख चक्रबहादुर भण्डारी, एनप्याव्सन दाङका प्रतिनिधि तथा गोरखा मावि तुलसीपुरका प्राचार्य विजयमान जिएम, अमर उरहरी माविका प्रधानाध्यापक पदमबहादुर वलीले विद्यालय स्तरीय यस्ता खेलकुद प्रतियोगिताले खेलकुदको विकास र विस्तार हुनुका साथै विद्याार्थीहरुको वृद्धि विकासमा सहयोग पुग्ने बताउनुभयो ।
गुरुजजुर माविका प्रधानाध्यापक विष्णुकुमारी केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले आफ्नो कला कौशल प्रस्तुत गर्नुका साथै विभिन्न झाँकी तथा मार्चपास गरिएको हो ।
कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक लेवेन्द्र केसीले गर्नु भएको हो ।
तीन दिनसम्म संचालन हुने प्रतियोगितामा तुलसिपुर नगर क्षेत्रका संस्थागत र सामुदायिक गरि ३९ विद्यालयको सहभागिता रहेको छ ।
रनिङ शिल्ड प्रतियोगितामा मार्सल आर्ट कराते, तेक्वान्दो,भलिबल, एथलेटिक्स र कबड्डी गरि पाँच खेलमा सहभागी विद्यालयका छात्र/ छात्रा बिच कडा प्रतिस्पर्धा हुनेछ ।
यसैबिच बिहिबार भएको एथलेटिक्स तर्फको १०० मिटर छात्रा दौडमा गोरखा माविका धावनी नेपाली प्रथम, गुरुजजुर माविका निसा केसी, द्वितिय र अमृत एकेडेमिका सरिता महरा तृतीय हुनुभएको छ ।
त्यस्तै छात्रतर्फ मावि सेन्टरका टार्जन गिरी प्रथम, ज्ञान ज्योति माविका अर्जुन कुमार योगी द्वितिय, ग्रेट अरनिको माविका अनिल चौधरी तृतीय हुनुभयो ।
त्यस्तै १ हजा ५०० मिटर दौड छात्रतर्फ गुरुजजुर माविका विशाल महत प्रथम, गोरखा माविका बिजय कवँर द्वितिय र ग्रेट अरनिको माविका नरेश कुमार घर्ती तृतिय हुनुभएको छ ।
त्यस्तै छात्रातर्फ गोरखा माविका मोतिकला डाँगी प्रथम,मावि कालाखोलाका जेनिशा पुन द्वितिय, मावि तुलसीपुर सेन्टरका एलिशा सुनाम तृतिय हुनुभएको छ ।
त्यस्तै सटपट छात्रतर्फ गोरखा माविका पुष्पकमल बिक प्रथम, सहिद स्मृति माविका सुशील शाही द्वितिय र ग्रेट अरनिको माविका ऋषिकेश चन्द तृतिय हुनुभएको छ ।
यसैगरी छात्रातर्फ ज्ञान ज्योति माविका ऋतु नेपाली प्रथम, गुरुजजुरका निरुता बिक द्वितिय र डिभाईन टेम्पल एकेडेमीका कृतिका बुढाथोकी तृतिय हुनुभएको छ ।
त्यस्तै छात्रा लङजम्पमा गोरखा माविकी करुणा रिजाल प्रथम, गुरुजजुरकी निशा केसी द्वितिय र अम्बिकेश्वरी मावि अम्बापुरकी अनिता चौधरी तृतिय भएको एथलेटिक्स वरिष्ठ प्रशिक्षक पद्मा चौधरीले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तरगत भोलि शुक्रबारका खेल बिहान ८ बजे देखि सुरु हुने आयोजकले जनाएको छ ।