२०८१ माघ १ गते मङ्गलवार

तल्लो हलवार हत्याकाण्ड : बिहे खाना आएका आफन्ती बने मलामी

दाङ,७ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ तल्लो हलवार निवासी ४२ वर्षिय लक्ष्मी चौधरीको शनिबार साँझ हत्या भएको छ ।

श्रीमान ४३ वर्षिय हिमलाल भनिने पेण्डुवा चौधरीले श्रीमतीको हत्या गरेका हुन् । शनिबार गाउँमा आफन्तीको बिहे थियो ।

सबै जना बिहेमा रमाईरहेका थिए । बिहे पनि मृतक लक्ष्मीको दाईको छोरा (भतिज) को बिहे हो ।

स्थानीयका अनुसार लक्ष्मीका श्रीमान बिहेमा जान मानेका थिएनन् । उनी बिहेमा पनि सहभागी भएनन् ।

स्थानीय आफन्ती चम्फा चौधरीका अनुसार उनी सामान्य बिरामी पनि थिए । तर बिहेमा नजानुको कारण बिरामी थिएन । उनी ससुरालीमै नजाने सोच बनाएर बिहेमा गएनन् ।

श्रीमती लक्ष्मीलाई बिहेमा नजान दवाब दिएका थिए । उनी दिनभरी घरमै बसेका थिए । श्रीमती लक्ष्मी बिहेघरबाट फर्केर बेलुका ५ बजेतिर गाईवस्तुलाई घाँसपात गरेर घरमा गइन् । रात पर्न थालिसकेको थियो ।

घरमा गएकी लक्ष्मी त्यसपछि घर बाहिर निस्कन पाइनन् । उनको श्रीमानले स्टिलको रड प्रहार गरी हत्या गरे । बिहे खाएर घरमा गएकी लक्ष्मीलाई हिमलालले आफ्नै कोठामै हत्या गरेका हुन् ।

श्रीमतीको हत्या गरेर घरका ढोका बन्द गरेका उनि भित्रै थिए । घर नजिकै बिहे भएको कोलाहलले पनि हत्या हुँदा केहि कसैले अत्तोपत्तो पाएनन् ।

फुपुको अचानक हत्या भएको खबर पाएको आफन्त सुन्दर चौधरीले बताए । ‘फुपुको हत्या भएको रहेछ, तर हामीले शुरुमा त गाउँभरी खोज्यौँ ।’ उनले भने-‘फूपुको कोठाभित्रै हत्या भएको रहेछ ।’

उनका अनुसार हिमलालले तीन दिनअघिबाट मात्रै रक्सी खान छोडेका थिए । स्वास्थ्यमा समस्या भएपछि अस्पताल गएका उनलाई डाक्टरले नै रक्सी नखान सुझाव दिएका थिए । त्यसपछि उनले रक्सी खान छोडेका थिए ।

तर घटना हुने बेलामा रक्सी खाए नखाएको थाहा नभएको उनले बताए । ‘घटना हुने बेलामा खानुभएको थियो, थिएन थाहा भएन, तर रक्सि खानभने तीन दिन अघि छाडि सक्नुभएको थियो ।’ उनले भने-‘हत्याको कारण अरुजस्तो लाग्दैन्, त्यै रक्सी नै हो ।’ चौधरी दम्पतिका दुई छोरी र एक छोरा छन् ।

बिहे भएकी जेठी छोरी मामाको छोराको बिहेमा आएकी थिइन् । श्रीमतिको हत्यापछि हिमलालले अरुलाई घरमा पस्न दिएका थिएनन् । बिहे खाएर घरमा जेठी छोरीलाई खाना ल्याउन हिमलालले अह्रांएका थिए । छोरीले घरको माथिल्लो तलाबाट खाना पुर्‍याएकी थिइन् । खाना खाएका उनले ढोका भने खोलेका थिएनन् ।

हत्या करिब ६ बजेतिर भएको आशंका गरिएको स्थानीय शेरबहादुर पुनले बताए ।

‘श्रीमतीको हत्या गरेपछि ढोका लगाएका बसेका थिए उनी, बिहेको कोलाहलका कारण हत्या हुने बेलामा कसैले थाहा पाएनन् ।’ उनले भने-‘ढोका नखोलेपछि छोरालाई लाइट लगाएर सानो प्लाँलबाट हेर्न लगाउँदा कम्मल ओडाएर सुताएको देखिएपछि प्रहरीलाई खबर गरिएको हो ।’

बिहेमा आएका आफन्ती मलामी बनेका छन् । ‘गाउँमा हिजो बिहे थियो, रमाईलो थियो, तर आज हामी शोकमा छौँ ।’ उनले भने-‘के गर्नु बिहेका लागि आएका आफन्ती मलामी बन्नुपरेको छ ।’

त्यस अघि ढोका खोलेर भाग्न खोजेका बेलामा अरु थप तीन जनालाई आक्रमण गरेको उनले बताए । ‘घटनामा परी अरु तीन जना घाईते भएका छन् ।’ उनले भने-‘छोरा, मृतक लक्ष्मीको भाउजु र एक जना काठमाण्डौबाट बिहे खाना आएकी महिला घाईते भएका छन् ।

उनीहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका प्रहरीले जनाएको छ । घटनापछि श्रीमतीको हत्या गर्ने श्रीमान हिमलाललाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले बताए ।

‘हामीलाई शनिबार राती १० बजेपछि खबर भएको थियो, लगत्तै श्रीमानलाई पक्राउ गरिएको छ ।’ उनले भने-‘थप अनुसन्धान भइरहेको छ ।’ मृतक लक्ष्मीको आइतबार दिउँसो ग्वारखोलामा अन्त्यष्टी गरिएको छ ।

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस