२०८१ फाल्गुन १ गते बिहिवार

महिलालाई च्याउ खेती तालिम

तुलसीपुर, २७ पुस । महिलाहरुलाई आत्मनिर्भर बनाउन तुलसीपुरमा व्यवसायीक  च्याउ खेती तालिम प्रदान गरिएको छ । गणपति लघुवित्त वित्तिय संस्था लिमिटेड तुलसीपुर शाखाले महिलालाई शुक्रबार व्यवसायीक च्याउ खेती तालिम प्रदान गरेको हो ।

विभिन्न समुहमा आवद्ध ३० जना महिलालाई व्यवसायीक च्याउ खेतीको बारेमा तालिम प्रदान गरिएको तुलसीपुर शाखा प्रमुख दिपेन्द्र सापकोटाले जानकारी दिनुभयो । तालिम लिएका महिलालाई व्यवसायीकरुपमा च्याउ खेती गर्नका लागि लघुवित्तले आवश्यक कर्जा प्रदान गरिरहेको उहाँले बताउनुभयो । महिलाले व्यवसायिकरुपमा च्याउ खेती गर्न चाहेमा ७ लाखसम्मको कर्जा उपलब्ध गराउने गरेको उहाँको भनाई छ । 

च्याउ खेती तालिमको प्रशिक्षकमा तुलसीपुर उपमहानगरपालिकाका कृषि शाखाका कृषि अधिकृत कुलराज चौधरी रहुनुभएको थियो । उहाँले च्याउ खेती तालिमलाई व्यवहारमा कार्यान्वयन ल्याउन सके आत्मनिर्भर बन्न सकिने बताउनुभयो । च्याउ खेतीको लागि दाङमा उपयुक्त मौसम भएकाले पनि च्याउको व्यवसायीकरुपमा खेती गर्न सकिने उहाँको भनाई छ ।  

तुलसीपुर-१० राइखलियानका सरस्वती चौधरीले तालिमबाट व्यवसायी च्याउ खेती गर्ने उपायबारे धेरै कुरा सिक्न पाएको बताउनुभयो । उहाँले आफुले यसअघि नै च्याउ खेती गरेपनि आज थप कुरा जान्ने मौका पाएको बताउनुभयो ।  तालिमममा सहभागी महिललाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

प्रकाशित मिति : २०८० पुष २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस