रुकुम पश्चिम, २६ पुस । रुकुम पश्चिममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । इन्टरनेट मर्मतका लागि केन्द्रीय प्रसारण लाइनको पोलमा चढेका मुसिकोट नगरपालिका वडा नम्बर १ मठका २४ वर्षीय सुमन थापाको मृत्यु भएको हो ।
इन्टरनेट सेवा प्रदायक संस्था टेकमाइन नेटवर्कमा कार्यरत थापा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतु बजारमा बिजुलीको पोलमा चढेका बेला करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार करेन्ट लागेर घाइते भएका थापालाई उपचारका लागि बुधबार साँझ जिल्ला अस्पताल सल्ले पुर्याइएकामा डाक्टरले मृत घोषित गरेका थिए । बिजुलीका पोलबाट इन्टरनेटको तार ल्याएका कारण मर्मत र जडानका क्रममा बेला बेलामा इन्टरनेट प्राविधिकहरूलाई करेन्ट लाग्ने गरेको छ ।
प्रकाशित मिति : २०८० पुष २६ गते बिहिवार