
दाङ, २१ पुस । दाङमा मिटरव्याज पिडित नै सम्पर्कबिहिन भएका छन् । चार सय ३५ उजुरीमा छलफल गराउन प्रयास गरिए पनि तीन सय ७८ मिटरब्याज पीडितको रुपमा उजुरी दिएकाहरू सम्पर्कमै आएका छैनन् ।
प्रशासन स्रोतका अनुसार मिटरब्याज पीडितको रुपमा उजुरी दिएकाहरू सम्पर्कमा आएका छैनन् भने उजुरी परेकाहरू प्रशासन धाइरहेका छन् ।
अधिकांश पीडित भनिएका नै सम्पर्कमा आएका छैनन् भने उजुरी परेकाहरू नै यहाँ धाइरहेका छन् । उजुुरी दिएका नै सम्पर्कमा आउन नचाहँदा दुवै पक्षलाई बसाएर छलफल गराउनै सकिएको छैन ।
हालसम्म चार सय ५२ उजुरीमध्ये ७६ वटाको मात्रै दुबै पक्षलाई राखेर छलफल गराइएको छ । जसमा ५७ उजुरीमा मिलापत्र समेत भइसकेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले निवेदन दिएका उजुरीकर्ता नै सम्पर्कमा नआएको बताउनुभयो । उहाँले उजुरीकर्ता सम्पर्कमा आए अर्को पक्षलाई बोलाउने र छलफल गराउने गरेको र पीडित भनी उजुरी दिएका नै सम्पर्कमा नआउँदा समस्या भएको बताउनुभयो ।
एकैजनाले एक दुई जनादेखि १५ जनासम्मलाई उजुरी दिएकोले पनि पीडित सम्पर्कमा नआउँदा दुवै पक्षसँग छलफल गराउन नसकिएको हो ।
परेका उजुरीको क्रम संख्याका आधारमा हालसम्म चार सय ३५ उजुरीकर्तालाई र उजुरी परेकालाई सम्पर्कको प्रयास गरिएको जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजको उजुरी हेरिरहनुभएका खरिदार शम्भु आचार्यले जानकारी दिनुभयो ।-नयाँ युगबोध दैनिबाट