दाङ, १९ पुस । दाङमा हात्तीपाइले रोगको अवस्थाबारे जानकारी लिन सर्वेक्षण गरिने भएको छ । दाङको ४ स्थानमा यस प्रकारको सर्वेक्षण गर्न लागिएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा र स्वास्थ्य कार्यालय दाङले आयोजना गरेको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रममा उहाँले यस्तो जानकारी दिनुभएको हो ।
चन्दका अनुसार दाङको ४ स्थानमा सर्वेक्षण गरिने र यसैको आधारमा के गर्ने भनेर अगाडि बढिने छ । दंगीशरण गाउँपालिकाको वडा नम्बर ५, तुलसीपुर उप महानगरपालिकाको वडा नम्बर १९, घोराही उपमहानगर पालिकाको वडा नम्बर २ र राप्ती गाउँपालिकाको वडा नम्बर ५ मा सर्वेक्षण गरिने भएको छ । छनोट गरिएका क्षेत्र पहिले हात्तीपाइले रोग देखिएका स्थान रहेको बताइएको छ ।
छनोट गरिएको एउटा क्षेत्रमा ३ सय जनाको परीक्षण गरिने फोकल पर्सन चन्दले बताउनुभयो । दाङमा एक हजार दुई जनामा परीक्षण गरिने छ । परीक्षणका क्रममा हात्तीपाइले रोग पाइएमा औषधी खुवाइने छ । जिल्लामा ५ लाख बढी जनसङ्ख्या भएकाले २ खण्डमा विभाजन गरिएको समेत उहाँले बताउनुभयो ।
पहिलो चरणमा रगतको परीक्षण गरिने भएको छ । पहिलो चरणमा पोजेटिभ देखिएमा पुनः त्यस्ता व्यक्तिको रगत लिएर परीक्षण गरिने भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका शंकर भण्डारीले जिल्लामा पुस २७ गतेसम्म सर्वेक्षण गरेर सकिने जानकारी दिनुभयो । परीक्षणबाट जिल्लाको हात्तीपाइलेको अवस्थाबारे जानकारी लिन सहज हुने र त्यसै अनुसार अगाडि बढिने उहाँको भनाइ छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले जिल्लामा लामो सयमदेखि हात्तीपाइलेविरुद्धको औषधी खाइरहे पनि हात्तीपाइले रोग न्यूनिकरण हुन नसकेको बताउनुभयो । यसबारे सबै सचेत हुनु पर्ने समेत उहाँले बताउनुभयो ।
अहिले थालिएको सर्वेक्षण कार्यलाई सबैले सहयोग गर्नु पर्ने भन्दै उहाँले आफ्नो तर्फबाट सबै निकायसँग सहकार्य गर्न भूमिका खेल्ने बताउनुभयो । दाङमा विगत १२ वर्षदेखि हात्तीपाइलेविरुद्धको औषधी खुवाइँदै आइएको छ ।