२०८१ कार्तिक ३० गते शुक्रवार

युक्रेनी सेनाको कब्जामा परेका प्रतिकको रिहाईका लागि परिवारको अपिल

दाङ, २७ मंसिर । विद्यार्थी भिसामा रुस पुगेका छोरा युक्रेनी सेनाको कब्जामा परेको खबर सुनेपछि तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीकी तीलकुमारी पुनले रिहाईका लागि अपिल गर्नुभएको छ ।

उहाँका एक्ला छोरा कमल भनिने प्रतीक गत असार ७ मा १० लाख रुपैयाँ खर्चेर रुस पुगेका थिए । पछि उनी रुसी सेनामा भर्ती भएर युक्रेन विरुद्धको लडाइँमा होमिएका थिए । परिवारका अनुसार घर बनाउँदा, बुबाको उपचार गर्दा र विदेश यात्राको ३० लाखभन्दा बढी ऋणको भारीका कारण प्रतीक रुसी सेनामा भर्ती भएका हुन् ।

दुई महिनासम्म पढ्दै काम गर्दै गरेका उनले मासिक ५० हजार कमाइबाट ऋण तिर्न सम्भव नदेखेपछि असोजतिर पढाइ छाडेर रुसी सेनामा भर्ती भएको जेठी दिदी समीक्षाले बताउनुभयो ।

प्रतिकसंग पछिल्लो पटक मंसिर १६ गते बिहान १० बजेतिर कान्छी बहिनी विपनासँग फोनमा कुरा भएको थियो । उक्त दिन राति १२ बजेतिर अब लामो समय अनलाइन आउन पाउँदैन भनेर विपनाको मोबाइलमा मेसेज आयो । त्यसपछि सम्पर्क हुन नपाएको परिवारले जनाएको छ । अहिले प्रतिकको रिहाईका लागि परिवारले अपिल गरेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस