२०८१ माघ ८ गते मङ्गलवार

दाङबाट सात सय बढी विदेशी बुहारीलाई नागरिकता प्रदान

दाङ, २५ मंसिर । दाङबाट सात सय बढी विदेशी बुहारीले वैवाहिक अंगिकृत नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार ७ सय २५ जना विदेशी बुहारीले वैवाहिक अंगिकृत नागरिकता लिएका हुन् ।

नेपालको संविधान २०७२ को भाग २ अनुसार नेपाली पुरुषसंग विवाह गरेका ७ सय २५ विदेशी बुहारीले दाङबाट वैवाहिक अंगिकृत नेपाली नागरिकता पाएका हुन् । नेपालको कानुन अनुसार नेपाली पुरुषसंग विवाह गरेकी विदेशी महिलाले विवाहको भोलिपल्टै नागरिकता पाउने प्रावधान छ ।

दाङमा जिल्ला प्रशासनबाट सबैभन्दा बढी विदेशी बुहारीले नागरिकता प्राप्त गरेका छन् । तथ्यांक अनुसार जिल्ला प्रशासन कार्यालय घोराहीबाट ६३५, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट २९ र इलाका प्रशासन कार्यालय लमहीबाट ३१ जना विदेशी बुहारीले नेपाली नागरिकता प्राप्त गरेका छन् ।

दाङमा वैवाहिक अंगिकृत नेपाली नागरिकता प्राप्त गर्ने अधिकांश विदेशी बुहारी भारतका रहेका छन् । दाङ भारतसंग सिमा जोडिएका कारण सिमानाकामा भारतीय महिलाले नेपाली पुरुषसंग विवाह गर्ने गरेको जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकिय अधिकृत बिजय गौतमले जानकारी दिनुभयो ।

यस्तै दाङमा अहिलेसम्म ५० जना विदेशीले अंगिकृत नागरिकता प्राप्त गरेका छन् । विदेशीहरु नेपालमा लामो समय बसोबास गरेपछि अंगिकृत नागरिकता पाउने गरेका छन् । नेपालमा विशेषगरी भारतीय नागरिकहरु विभिन्न व्यापारको शिलशिलामा बसोबास गर्ने र कालान्तरमा अंगिकृत नागरिकता प्राप्त गरेका छन् । तर अंगिकृत नागरिकता प्राप्त गरिसकेका विदेशीका छोराछोरीले भने वंशजको आधारमा नागरिकता पाउने गरेका छन् ।

यस्तै जन्मका आधारमा दाङबाट १ हजार १४ जनाले नागरिकता प्राप्त गरेका छन् । प्रशासकिय अधिकृत गौतमका अनुसार नेपालमा सरकारले २०६३ सालमा ऐन ल्याएर २०४६ अगाडी नेपालमा जन्मेका सन्तानलाई नागरिक प्रदान गरिएको हो ।

नेपालको संविधानको धारा ११ मा नेपाली नागरिक आमाबाट जन्मेर नेपालमा बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशका आधारमा नेपालको नागरिकता दिने उल्लेख छ । तर बाबु विदेशी नागरिक भएको ठहरिए वंशजबाट पाएको नागरिकता अंगीकृतमा परिणत हुनेछ ।

यस्तै आमाको नामबाट नागरिकता दाङमा हालसम्म १२ जनाले नागरिकता लिएको देखिएको छ । यस्तै एक जनाले गैर आवाशिय नागरिकता प्राप्त गरेका छन् । नेपाली नागरिकले विदेशी नागरिकता प्राप्त गरिसकेको अवस्थामा नेपाली नागरिकता त्यागेपछि गैरआवशिय नागरिक प्राप्त गर्न सकिने प्रावधान रहेको छ ।

यसैबिच ५४ वर्षको अवधिमा दाङबाट आठ लाख बढीले वंशजको आधारमा नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार २०२६ सालदेखि २०८० सालको कार्तिक मसान्तसम्म दाङबाट ८ लाख १५ हजार २४१ जनाले वंशजको आधारमा नागरिकता प्राप्त गरेका छन् ।

जस अनुसार जिल्ला प्रशासन कार्यालय घोराहीबाट हालसम्म ५ लाख १ हजार ११२ जनाले वंशजको आधारमा नागरिकता लिएका छन् । यस्तै ईलाका प्रशासन कार्यालय तुलसीपुरबाट १ लाख ८५ हजार ५४९ जना र इलाका प्रशासन कार्यालय लमहीबाट १ लाख २८ हजार ५८० जनाले वंशजको आधारमा नागरिक प्राप्त गरेका छन् । दाङबाट हालसम्म १५ जनाको नागरिकता बदर भएको छ । यस्तै अहिलेसम्म दाङका १० जनाले नेपाली नागरिकता त्यागेका छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस