२०८१ माघ १ गते मङ्गलवार

कपुरकोट गाउँपालिकामा विद्युत विस्तारको कामले पूर्णता पाउँदै

दाङ, ११ मंसिर । सल्यानको कपुरकोट गाउँपालिकामा विद्युत विस्तारको काम तिब्र बनेको छ । विद्युत विस्तार हुन बाँकी ठाउँमा विद्युत विस्तारको काम तिब्र बनेको हो । गाउँपालिकाका सबै वडामा विद्युत विस्तार भएपनि सबै वस्तीमा पुग्न बाँकी रहेकोले चालुवर्षभित्र सबै ठाउँमा विद्युत विस्तार गर्ने गरी काम अघि बढेको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिनुभयो । 

गाउँपालिकाको वडा नम्बर ५ र ६ मा तिहारअघि करिब १ सय घरमा बिजुली बलेको छ । वडा नम्बर ५ को बगरचौर बाहेक लगभग सबै वस्तीमा विद्युत विस्तार भएको अध्यक्ष पुनले बताउनुभयो । यस्तै तिहार अघि वडा नम्बर ६  थप वस्तीमा विस्तार भएको नेपाल विद्युत प्राधिकरण सल्यानका प्रमुख दिनेश पोखरेलले बताउनुभयो । 

उहाँले कपुरकोट गाउँपालिकाका ६ वटै वडामा चालुवर्षभित्रै पूणर् विद्युतिकरण हुने बताउनुभयो । उहाँका अनुसार कपुरकोट गाउँपालिकाका करिब ७५ प्रतिशत घरधुरीमा विद्युतिकरण भइसकेको छ । बाँकी रहेको करिब २५ प्रतिशत घरधुरीमा यसै आर्थिक वर्षभित्र विद्युतिकरण गर्ने योजना छ ।

कपुरकोट गाउँपालिकाको वडा नम्बर २ र ४ मा अन्य वडाको तुलनामा विद्युत विस्तार गर्ने काम बढी रहेको उहाँले बताउनुभयो । घरमा पहिलो पटक बिजुली बाल्न पाउँदा कपुरकोट गाउँपालिका वडा नम्बर ५ सिपनगैरा र फल्लेपानीका स्थानीय खुशी भएका छन् । 

गाउँमा पहिलो पटक विद्युत आएपछि  मोबाईल चार्ज गर्न , टिभि हेर्न, विद्युतिय मोटरबाट पानी तान्न सहज भएको सिपनगैराका सुर्य घर्तीले बताउनुभयो । 

कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीका अनुसार गतवर्ष नै गाउँपालिकाको २ करोड र नेपाल विद्युत प्राधिकरणको ५ करोड गरी ७ करोडमा ठेक्का सम्झौता भएको हो । यसवर्ष नेपाल विद्युत प्राधिकरणले साढे ५ करोडमा थप ठेक्का लगाएर काम अघि बढाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस