
घोराही, ११ मंसिर । दाङ जिल्ला दोश्रो अन्तर स्कुल हाप्किडो च्याम्पियनसिप २०८० मा गोरक्षरत्ननाथ स्कुलको टिम च्याम्पियन बनेको छ ।
दाङ जिल्ला हाप्किडो संघको आयोजनामा यहि मंसिरको ९ र १० गते घोराही उपमहानगरपालिका १८ नवलपुरमा भएको दाङ जिल्ला दोश्रो अन्तर स्कुल हाप्किडो च्याम्पियनसिपमा गोरक्षरत्ननाथ स्कुलको टिम च्याम्पियन बनेको हो ।
घोराही उपमहानगरपालिका १७ चौघेरामा रहेको गोरक्षरत्ननाथको टिम चार स्वर्ण र काश्य एकसहित पाँच पदक जित्दै च्याम्पियन बनेको हो । च्याम्पियन बनेको टिमले मेडल, प्रमाणपत्र र ट्रफि जितेको छ । त्यसैगरी प्रतियोगितामा घोराहीमा रहेको नेपाल पुलिस स्कुल दोश्रो बनेको छ । दोश्रो बनेको पुलिस स्कुलले तीन स्वर्णसहित ३ रजत र ३ काश्य पदकसहित ९ पदक जित्दै दोश्रो बन्न सफल भएको छ ।
त्यसैगरी देउखुरीमा रहेको जनता माध्यामिक विद्यालय स्कुलको टिम तेश्रो बनेको छ । तेश्रो बनेको जनता माध्यामिक विद्यालय कालाकाटेको टिमले ३ स्वर्णसहित रजत १ र काश्य ५ गरी नौ पदक जितेको छ । प्रतियोगितामा दोश्रो र तेश्रो हुने टिमहरुले ट्रफि, मेडल र प्रमाणपत्र जितेका हुन ।
प्रतियोगितामा उत्कृष्ट महिला खेलाडी विद्याकुञ्ज स्कुल सौडियारकी नम्रता विक, उत्कृष्ठ खेलाडी पुरुषतर्फ गुरुजजुर माध्यामिक विद्यालय तुलसीपुरका विशाल विक बनेका छन् ।
त्यसैगरी उदयमान खेलाडी महिलातर्फ नेपाल पुलिस स्कुल घोराहीकी मिनिसा रोकामगर र पुरुषतर्फ पनि नेपाल प्रहरी स्कुलकै दीपक विक बनेका छन् । प्रतियोगितामा सुस्मिता वली उत्कृष्ट रेफ्रि भएकी छिन । प्रतियोगितामा व्यक्तिगत विद्यातर्फ उत्कृष्ट हुने खेलाडी तथा रेफ्रिलाई सम्मान गरिएको थियो ।
दुई दिनसम्म चलेको प्रतियोगितामा जिल्लाका ४५ वटा विद्यालयहरुबाट साढे ६ सय बढी खेलाडीहरुको सहभागीता रहेको थियो । प्रतियोगिताका बिजेता खेलाडीहरुलाई नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगर लगायतका अतिथिहरुले ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
स्थानीयस्तरमा रहेका विद्यालयहरुबाटै खेलाडी प्रतिभाको खोजी र पहिचानका लागि दाङ जिल्ला हाप्किडो संघले प्रत्येक बर्ष प्रतियोगिता गर्दै आएको छ ।
प्रतियोगिताका माध्यमबाट प्रतिभावान खेलाडी उत्पादन गर्दै हाप्किडो खेलको विकास र विस्तार गर्ने उद्देश्य अनुसार विगतका बर्षहरुदेखि जिल्लामा चक्रिय प्रणालीमा हरेक पालिकाहरुमा खेलका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।