दाङ, २१ कार्तिक । तुलसीपुरको भमकेमा मंगलबारदेखि रोयल भमके टि-२० क्रीकेट प्रतियोगिता २०८० सुरु भएको छ । स्वतन्त्र युवा समूह तुलसीपुर-१ भमकेको आयोजनामा मदन भण्डारी रंगशाला भमकेमा संचालन भएको प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख मेयर टिकाराम खड्काले उद्घाटन गरेका हुन् ।
स्वतन्त्र युवा समूह तुलसीपुर १ भमकेका अध्यक्ष तथा प्रतियोगिता संयोजक खगेन्द्र नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा खेलप्रेमी, युवा समाजसेवी लगाएतको उपस्थिती रहेको थियो । यसैबिच प्रतियोगिता अन्तरगत मंगलबार भएको खेलमा तुलसीपुर-९ बेलुवा र तुलसीपुर-६ बिजयी भएका छन् ।
उद्घाटन खेलमा आयोजक रोयल भमके बिलाई १०८ रनको फराकिलो अन्तरले पराजित गर्दै तुलसीपुर ९ ले बिजयी यात्रा सुरु गरेको हो । त्यस्तै दोस्रो खेलमा मिलन युवा क्लब तुलसीपुर ७ लाई ६ विकेटले पाराजित गर्दै तुलसीपुर ६ बिजयी भएको हो ।
उद्घाटन खेलमा टस जितेर ब्याटिङ रोजेको तुलसीपुर ९ ले निर्धारित १५ ओभरमा आफ्ना ६ विकेटको क्षेतिमा १ सय ५३ रन बनाएको थियो । जसमा तुलसीपुर ९ का हरि वलीले सर्वाधिक ६१ रनको योगदान दिए ।
त्यस्तै किशोर वली र युवराज वलीले क्रमशः २३ र १५ रन जोडे । बलिङतर्फ रोयल भमके ‘बि’ का आयुस भण्डारीले २ र गिरिराज बिक , सरद ढकाल, सुदिप पाण्डेले समान १-१ बिकेट लिन सफल भए ।
१५४ रनको बिजयी लक्ष्यका जवाफी ब्याटिङ गर्न मैदान उत्रिएको रोयल भमके बि ११ दशमलव २ ओभरमा अलआउट हुँदै मात्र ४५ बनाउन सक्यो ।
जसमा गिरिराज बिकले १४ रन बनाउनुबाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंक बनाउन सकेनन् । बलिङतर्फ तुलसीपुर ९ का रन्जित चौधरीले सर्वाधिक ३ विकेट लिए भने सन्दीप बिक, दानिस अन्सारी र विशाल वलीले समान १-१ विकेट लिए ।
खेलमा उत्कृष्ट ब्याटिङ गर्दै ६१ रन बनाउने तुलसीपुर ९ का हरि वली म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ सय तथा मेडल प्राप्त गरे । यस्तै दोस्रो खेलमा टस जितिर ब्याटिङमा उत्रेको मिलन युबा क्लब १३ दशमलव २ ओभरमा अल आउट हुँदै ८३ रनमा समेटियो ।
मिलन युबा क्लबले दिएको ८४ रनको बिजयी लक्ष्य तुलसीपुर ६ ले १२ ओभरमा पुरा गर्यो । खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने तुलसीपुर-६ का राजेन्द्र केसी म्यान अफ द म्याच घोषित भए ।
यसैबीच प्रतियोगिता अन्तरगत बुधबार बिहान रोयल भमके ए र मिलन युवा क्लब त्यस्तै त्रिशिदेश्वरी क्रीकेट क्लब तुलसीपुर र तुलसीपुर ११ भिड्नेछन् । झण्डै एक सातासम्म चल्ने प्रतियोगिताको बिजेताले नगद ५१ हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपबिजेता टिमले नगद २५ हजार,कप, मेडल प्रमाणपत्र हात पार्नेछ । त्यसैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीमध्ये व्यक्तिगत बिधातर्फ म्यान अफ द टुर्नामेन्टलाई नगद चार हजार तथा मेडल, वेष्ट ब्याट्सम्यान वेष्ट बलरलाई क्रमशः जनही दुई हजार पाँच सय नगद तथा मेडल प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यस्तै प्रतियोगिताका प्रत्येक म्याचका म्यान अफ द म्याच लाई नगद पाँच सय साथमा मेडल प्रदान गरिनेछ । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।