२०८१ मङ्सिर २३ गते आइतवार

लालपुर्जा दिन न्यूनतम पाँच वर्षको समय चाहिन्छ : सिंह

दाङ, १९ भदौ । नेपाल महिला एकता समाज दाङ शाखाले भूमी र श्रम सवालमा अन्तरक्रिया गरेको छ । समाजका जिल्ला सहसचिव आशा नेपालीको अध्यक्षता तथा भूमि आयोगका दाङ अध्यक्ष लेखराज सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा आयोगका अध्यक्ष भूमिहिनलाई लालपुर्जा वितरण गर्न करिब पाँच वर्ष लाग्ने बताउनुभयो । उहाँले भूमी ऐनमा ३ वर्षभित्रमा सक्नुपर्ने भनिएपनि त्यो समय अपर्याप्त रहेको बताउनुभयो ।

दुई वर्ष थप भएपनि समय पर्याप्त नहुने उहाँको भनाई छ । ‘छिटो काम गर्न खोजिरहेका छौँ, तर थुप्रै बाधा अड्छन छन् ।’ उहाँले भन्नुभयो-‘स्थानीय सरकारले तत्परता देखाउन सकेपछि केहि छिटो हुन सक्छ ।’ कर्मचारीको अभाव, कानुनी अड्चन लगायतका कारणले भूमि सम्बन्धि समाधान ढिलाई हुने निश्चित रहेको बताउनुभयो ।

यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकालले तुलसीपुरमा २०७४ सालदेखि काम निरन्तर भएपनि अझै टुंगोमा पुग्न नसकेको बताउनुभयो ।

उहाँले अब पनि भूमिहिनलाई लालपुर्जा दिने सवालमा समय लाग्ने बताउनुभयो । उपमहानगरपालिकाले सेतो पुर्जा दिएपछि पनि धेरै आधार भएको उहाँको भनाई छ । उहाँले भूमिमा श्रम गर्न सकेमात्रै समृद्धि प्राप्त गर्न सकिने बताउनुभयो ।

यस्तै वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारीले भूमिहिन सुकुमबासीलाई लालपूर्जा दिनका लागि आवश्यक प्रक्रिया अघि बढेको बताउनुभयो । उहाँले यसवर्षभित्र नापाजाँचको काम सकिने अनुमान गरिएको बताउनुभयो ।

नापजाँचको काम चलिरहेको बताउँदै वडा नम्बर ६ को राजापुर र मोतिपुरमा गरी २८ बिगाह जग्गाको लगत कट्टा भइसकेको बताउनुभयो ।

समाजका केन्द्रिय सचिव धना श्रेष्ठले भूमिहिनलाई लालपुर्जा दिलाउनका लागि समाजले महत्वपूणर् भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा रिता नेपाल, बिमला बिक लगायतले लालपूर्जा पाउने आशालाई सरकारले पुरा गर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण समाजका सदस्य पुष्पा नेपालीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस