२०८१ माघ ८ गते मङ्गलवार

एसिया कपमा नेपालले आज भारतसंग खेल्ने

दाङ, १८ भदौ । एसिया कपको समूह ए को अन्तिम खेलमा नेपालले सोमबार भारतसँग खेल्दैछ । दुई देशबीचको खेल सोमबार दिउँसो सवा ३ बजे श्रीलंकाको क्यान्डीमा हुनेछ ।

भारतलाई हराउँदै एसिया कपको सुपर फोरमा पुग्ने लक्ष्यमा नेपाल रहनेछ । नेपालले भारतसँग पहिलो पटक खेल्न लागेको हो । पहिलो भेटमा नै भारतलाई स्तब्ध पार्ने लक्ष्यमा नेपाल रहनेछ ।

समूह ए बाट पाकिस्तानले सुपर फोरमा स्थान बनाईसकेको छ । पाकिस्तान २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ सुपर फोरमा स्थान बनाएको छ ।

सुपर फोरमा स्थान बनाउँने पाकिस्तान पहिलो टोली समेत बनेको छ । शनिबारको भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो । शनिबारको खेलमा अंक बाडेका कारण भारतलाई नेपालविरुद्धको खेल जित्ने दबाब बढेको हो ।

सोमबार नेपालसँगको खेलमा पराजित भएमा भारतको एसिया कप यात्रा समाप्त हुनेछ । सो खेल शनिबारको जस्तै रद्द भएमा भने भारतले सुपर फोरमा स्थान बनाउँने छ ।

एसिया कपमा सहभागी ६ देश दुई समूहमा विभाजित रहेका छन् । हरेक समूहका शीर्ष दुई टोलीले सुपर फोरमा स्थान बनाउनेछन् । सुपर फोरमा चार टोलीले एक अर्काबीच खेल्नेछन् । सुपर फोरबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस