दाङ, ८ भदौ । दाङमा वर्षेनी महिला, बालबालिका र जेष्ठ नागरिक हराउने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङको तथ्यांक अनुसार वर्षेनी हराउने महिला, बालबालिका र जेष्ठ नागरिककोे संख्या वर्षेनी बढ्दै गएको छ ।
जिल्लामा बितेको ४९ महिनामा ९ सय ६९ जना महिला हराएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७६/२०७७ देखि चालुवर्षको साउन महिना सम्ममा ९ सय ६९ जना महिला हराएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार आर्थिक वर्ष २०७६/२०७७ मा २०० जना, आर्थिक वर्ष २०७७/२०७८ मा ३०१ जना, आर्थिक वर्ष २०७८/२०७९ मा ३५३ जना, बितेको आर्थिक वर्ष २०७९/२०८० मा ३८२ र चाल वर्षको साउन महिनामा ३४ जना महिला हराएको निवेदन दाङ प्रहरीमा परेको छ ।
महिला हराएको तथ्यांक डरलाग्दो देखिएपनि अधिकांश महिला दोस्रो बिहे गरेर जाने गरेको देखिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गौतमले बताउनुभयो ।
अधिकांश घटना दोस्रो बिहे गरेर गएको देखिन्छ । प्रहरीको तथ्यांक अनुसार महिलापछि सबैभन्दा बढी हराउनेमा बालिका बालक र जेष्ठ नागरिक रहेका छन् । कानुनले २० वर्ष मुनिका बिहेलाई अपराध माने पनि हराएर जानेमा २० वर्षमुनिका किशोरी रहेको र अधिकांश बिहे गरेर गएको देखिने गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरीको तथ्यांक अनुसार बितेको ४९ महिनाको अवधिमा ४ सय ८४ बालिका हराएका छन् भने हराएका बालिकामध्ये ४७३ बालिका भेटिएका छन् । जिल्लामा ११ जना बालिका अझैपनि सम्पर्कबिहिन रहेको देखिएको छ । ४९ महिनाको तथ्यांकलाई हेर्दा बालिका वर्षेनी हराउने क्रम बढ्दो रहेको छ ।
आर्थिक वर्ष २०७६/२०७७ मा ९० जना बालिका हराएकोमा आर्थिक वर्ष २०७७/२०७८ मा १०७, आर्थिक वर्ष २०७८/२०७९ मा १५८ जना, बितेको आर्थिक वर्ष २०७९/२०८० मा १७३ जना र चालुवर्षको साउन महिनामा
१४ जना बालिका हराएका छन् ।
बढ्दो सुचना प्रविधिको प्रयोगक अर्थात मोबाइल फोन, समाजिक संजाललगायतबाट चिनजान भएको युवाहरुसँग परिवारलाई जानकारी नै नदिई घर छाडेर विवाह गर्दा बालिकाको संख्या हराएको सूचीमा पर्ने गरेको डिएसपी गौतमले बताउनुभयो ।
यस्तै ४९ महिनाको अवधिमा २९१ बालक हराएका छन् भने २८२ जना बालक भेटिएका छन् । ९ जना बालक अझै पनि सम्पर्कमा आएका छैनन् ।