
सल्यान, १६ साउन । टमाटरको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । किसानले टमाटरको मूल्य अहिलेसम्मकै धेरै पाएका हुन् । टमाटर भारतीय बजारमा निर्यात भएपछि नेपालमा टमाटरको मूल्य बढेको हो ।
मंगलबार किसानले टमाटर प्रतिकिलो १४० रुपैँयासम्म बिक्रि गरेका छन् । जुन मूल्य अहिलेसम्मकै धेरै हो । किसानले टमाटर यसअघि ९० रुपैँयासम्ममा बिक्रि गर्ने गरेका थिए । मंगलबार टमाटरको मूल्य प्रतिकेजी १४० रुपैँया पुगेको कृषि उपज बजार केन्द्र कपुरकोटले जनाएको छ ।
कपुरकोट हाटबजारबाट मंगलबारमात्रै ६० लाख ४८ हजार ९४८ रुपैयाँ बराबरको ताजा तरकारी र फलफुल कपुरकोटबाट विक्रि भएको छ । कृषि उपज बजार केन्द्रका अनुसार ६८ हजार २८९ किलो कृषिजन्य वस्तु विक्रिबाट एकैदिन यती धेरै रकम किसानको हातमा परेको हो ।
यसमध्ये ४३ लाख बढी रकम टमाटर बिक्रिबाट मात्रै आम्दानी भएको छ । ३१ हजार ३०० किलो टमाटर बिक्रिबाट ४३ लाख ३ हजार ७५० रुपैयाँ, ४ हजार ५६५ किलो काउली विक्रिबाट १ लाख ९४ हजार १२ रुपैयाँ, ३ हजार ८९५ किलो भेडे खुर्सानी विक्रिबाट ३ लाख १ हजार ८६५ रुपैयाँ र ११ हजार ७०० किलो बन्दा विक्रिबाट २ लाख ४ हजार ७५० रुपैयाँ जिल्ला भित्रिएको बजार केन्द्रले जनाएको छ ।
मिहेनत गरेर उत्पादन गरेको तरकारीले उचित मूल्य पाएकोमा किसानहरु हर्षित छन् । करिब दुई क्विन्टल टमाटर बिक्रि गरेकी कपुरकोट ३ निबासी कृषक रामकली बिकले सदैव राम्रो मूल्य पाएमा किसानको मिहेनत खेर नजाने बताउनुभयो ।
कृषि उपज बजार केन्द्र कपुरकोटका अनुसार मंगलबारको तरकारी बजारमा टमाटर प्रतिकिलो १३५ देखि १४० सम्म, पुरानो अदुवा १४० देखि १५० मा किनबेच भएको हो । यस्तै किसानले अकबरे खुर्सानी १०० देखि १०५, भेडे खुर्सानी ७५ देखि ८०, काउली ४० देखि ४५, बन्दागोभी १० देखि १५ रुपैया प्रतिकिलो बिक्रि भएको बजार केन्द्रका बजार प्रतिनिधि चन्द्रमणी खड्काले जानकारी दिनुभयो ।
यस्तै सिमि ४५ देखि ५० रुपैया प्रतिकिलो बिक्रि गरेका किसानले लोकल कांक्रा ५० देखि ५५ र उन्नत कांक्रा १० देखि १२ रुपैयाँ प्रतिकिलो बिक्रि गरेका हुन । टमाटरको भाउ निरन्तर उकालो लागेपनि अब यसभन्दा बढी नजाने व्यवसायीले बताएका छन् । तरकारी तथा फलफूल कृषि उपज बजार केन्द्र तुलसीपुरका अध्यक्ष माधव घिमिरेले टमाटरको भाउ अब बढ्ने संभावना कम रहेको बताउनुभयो । भारतमा टमाटरको माग अत्याधिक भएकाले नेपालमा पनि मूल्य वृद्धि भएको उहाँले बताउनुभयो ।