२०८२ बैशाख १० गते बुधवार

कृषिको विकास बिना समृद्धि सम्भव छैन : गीरी

दंगीशरण १८ असार । दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गीरीले गाउँपालिकालाई कृृषिजन्य वस्तु उत्पादनको हब बनाउने बताउनुभएको छ । अध्यक्ष गीरीले कृषि तथा पशुपालनको संभावना खोजी गरेर गाउँपालिकालाई आर्थिक रुपमा सक्षम बनाउन कृषिजन्य वस्तुको उत्पादनका लागि जोड दिने बताउनुभयो । कृषिको विकास बिना समृद्धि असंभव रहेको उहाँको भनाई छ ।

दंगिशरणको कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युबा उद्यमशिलता साझेदारी परियोजनाले गरेको कृषि रणनीतिक योजना सम्बन्धि कार्यशाला गोष्ठीमा अध्यक्ष गीरीले दंगिशरण कृषिको राम्रो संभावना बोकेको गाउँपालिका भएकाले कुन वडाको कुन गाउँमा कुन प्रकारको कृषि उपयुक्त हुन्छ भन्ने थाहा पाउन साझेदारी सस्थासंग कृषि रणनीतिक योजना माग गरेको बताउनुभयो ।

उहाँले आफ्नो कार्यकालमा पालिकाका हरेक ठाउँको वस्तुस्थित अनुसारको कृषि योजना तयार गरी दंगीशरणलाई कृषि उत्पादनको हब बनाउने सोचमा रहेको बताउनुभयो ।

त्यस अवसरमा कृषि विज्ञ तथा परामर्शदाता डा. राम बहादुर रावतले कृषि योजनाको बारेमा जानकारी गराउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका ७ वटै वडा अध्यक्षहरुले सुझाव दिनुभयो । गाउँपालिकाका प्रवक्ता रमेश भण्डारीले बाख्राको खोर सुधार गर्नुपर्ने बताउँदै ठाउँ अनुसारको कार्यक्रम गर्न सुझाव दिनुभयो ।

वडा नम्बर २ का अध्यक्ष डम्बर खत्रीले परम्परागत विधि छोडी आधुनिक खेती प्रणालीको विकाश गर्नुपर्ने बताउनुभयो । उहाँले कृषिका लागि सिंचाई महत्वपूर्ण रहेको बताउनुभयो । वडा नम्बर ३ का अध्यक्ष शुकलाल चौधरीले लगानीको आधारमा प्रतिफलको मूल्यांकन गर्नुपर्ने बताउनुभयो ।

वडा नम्बर ४ का वडा अध्यक्ष कमल थारुले किसानले उत्पादन गरेका तरकारीको मूल्य ग्यारेन्टी गरिनुपर्ने बताउनुभयो ।

वडा नम्बर ५ का अध्यक्ष निरज बस्नेतले उत्पादनसंगै बजारीकरणको सहजता बनाउनुपर्ने बताउनुभयो ।

वडा नम्बर ६ का वडा अध्यष रोशन जङ शाहले खेतीयोग्य जमिनको माटो परिक्षण गरी उत्पादन प्रक्रिया बढाउनुपर्ने बताउनुभयो । वडा नम्बर ७ का वडा अध्यक्ष रेशम वलीले भौगोलिक भु–बनावट र माटोको परीक्षण गरी योजना केन्द्रीत गर्न सुझाव दिनुभयो ।

कृषि शाखा प्रमुख सरु भुषालले प्राङ्गगारीक माटोको कमिले गर्दा उत्पादनमा ह्रास आएकाले प्राङ्गारीक मलको प्रयोगतर्फ किसानलाई उन्मुख गराउनुपर्नेमा जोड दिनुभयो ।

पशु शाखा प्रमुख हितराम चौधरीले दंगीशरण गाउँपालिकाको ७ वटै वडामा पशुपालनको संभावित ठाउँहरु छुट्याईसकेको र दुध पकेट क्षेत्र छुट्याउन आवश्य रहेको बताउनुभयो ।

कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका क्षेत्रीय अधिकृत प्रकाश केसीले कार्यक्रमको उद्देश्य प्रस्ट पार्नुभएको थियो । दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष पिमा खड्काको विशिष्ट आथित्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण नेपाल महिला सामुदायिक सेवा केन्द्रका नबराज अधिकारीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस