
दाङ, १० असार । यसवर्ष वैशाखयता चट्याङ लागेर १७ जनाको मृत्यु भएको छ । ८४ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख १ गतेदेखि अहिलेसम्म चट्याङका एक सय वटाभन्दा धेरै घटना भएका छन् ।
शनिबार एकैदिन दाङ र बाग्लुङमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । चट्याङ लागेर दाङको दङ्गीशरण गाउँपालिका–६ बागरका ३२ वर्षीय समिर केसी र दङ्गीशरण गाउँपालिका–३ चखौराका ३७ वर्षीय रामनारायण चौधरी (वीरेन्द्र) को मृत्यु भएको हो ।
यस्तै, बाग्लुङको ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा चट्याङ पर्दा ६ वर्षीय छोरा दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो । चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
मौसमविद्का अनुसार प्रि–मनसुनमा चट्याङ धेरै पर्ने भए पनि अहिले मनसुन सुरु भइसक्दा पनि छिटपुट घटना भइरहेका छन् । चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर घाइते हुने तथा मृत्यु नै हुने खतरा हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो ।
अझै दुई–तीन महिना चट्याङ पर्ने सम्भावना उच्च हुने भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ ।
चट्याङ पर्ने समयमा खेतबारीको काममा नजान र गड्याङगुडुङको आवाज सुनेपछि घरभित्र वा सुरक्षित ठाउँमा बस्न विज्ञको सुझाव छ । चट्याङ पर्दा सबै विद्युतीय उपकरणलाई बन्द गर्नुपर्छ ।
यस्तो बेला मोबाइल नचलाउन, चार्ज नगर्न तथा पानीबाट पनि टाढा बस्न विज्ञको सुझाव छ । विज्ञका अनुसार पानीले पनि विद्युत् प्रवाह गर्ने भएकाले चनाखो हुनुपर्छ ।