२०८१ फाल्गुन १ गते बिहिवार

खेलाडी उत्पादन गर्दै मावि तुलसीपुर सेन्टर

तुलसीपुर, ६ असार । किरण वली सेन्टर मावि तुलसीपुरमा पढ्छन् । उनले पनि फुटबल खेल्छन् ।

खेलप्रति धेरै रुचि भएका वलीले गत जेठ १४ गतेदेखि २१ गतेसम्म बेलझुण्डीमा संचालित अन्तर आधारभूत विद्यालयस्तरिय फुटबल प्रतियोगितामा भाग पनि लिए ।

त्यसबेलामा खेलकै समयमा हातमा चोट लाग्यो । डक्टरले उनलाई आराम गर्न सुझाव दिए । तर उनी चोट लागेपछि खेलमा सहभागीता जनाए ।

उनी सम्मलित टिम पनि प्रतियोगितामा सफल पनि भयो । प्रथम पुरस्कार जित्न सफल भयो । विद्यालयमा कक्षा ८ मा पढ्ने उनका बुवा छैनन् ।

आमाले जसोजसो पढाउनुभएको छ ।

खेलमा प्रथम उपाधि जितेसंगै विद्यालयले उनलाई निशुल्क पढाउने भएको छ भने खेलका लागि आवश्यक ड्रेस र जुत्ता समेत उपहार दिएपछि उनी प्रफुल्ल छन् । ‘निशुल्क पढ्न पाउने भएपछि खुशी छु ।’ उनले भने–‘मलाई मेरो आमाले र विद्यालयका गुरुले दिएको साथले हौसला थपेको छ ।’

आशीष नेपाली पनि सेन्टर माविमा पढ्छन् । उनी पनि विद्यालयको खेलाडीमा पर्छन् । कक्षा सातमा पढ्दै गरेका आशीषले पनि खेलाडी भएकै कारण निशुल्क पढ्न पाएका छन् । ‘मैले ड्रेस र जुत्ता पाउँदा निकै खुशी भएको छु, अझ मैले विद्यालयमा निशुल्क पढ्न पाउने भएको छु ।’ उनले भने–‘बुवा–आमा र गुरुले मलाई साथ दिनुभएको छ ।’

किरण र आशीष जस्तै विद्यालयमा पढ्ने खेलप्रति रुचि भएका विद्यार्थीलाई खेलाडी बनाउने अभियानमा छ । विद्यालयले फुटबलमात्रै नभएर विभिन्न विधामा खेलाडी उत्पादनका लागि आवश्यक संरचना, प्रशिक्षकमा लगानी गरिरहेको छ ।

विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले खेलकुदका लागि आगामी आर्थिक वर्षमा करिब १० लाख बजेट व्यवस्थापन गर्ने बताए । ‘फुटबलसहित तेक्वान्दो, कराँते, भलिवल मार्सल आर्ट लगायतका खेलमा खेलाडी उत्पादन गर्ने विद्यालयले योजना अघि सारिसकेको छ ।’ उनले भने–‘यसका लागि आवश्यक बजेट सरकारसंग माग गछौँ ।’

उनले आगामी भदौपछि एथ्लेटिक्स र भलिबलका खेलाडी उत्पादनका लागि प्रशिक्षकको व्यवस्था गर्ने बताए । ‘खेलकुदका पनि एउटै विधामा सिमित रहँदैनौँ ।’ उनले भने–‘विभिन्न विधाका खेलका लागि आवश्यक संरचना र जनशक्तिको व्यवस्था गछौँ ।’

यसैबिच विद्यालयले फुटबल खेलाडीलाई जुत्ता र डे«स उपहारसहित सम्मान गरेको छ । विद्यालयले अन्तर आधारभूत विद्यालयस्तरिय फुटबल प्रतियोगितामा उपाधि हासिल गर्ने खेलाडी विद्यार्थीलाई जुत्ता र डे«ससहित सम्मान गरेको हो ।

गत जेठ १४ गतेदेखि २१ गतेसम्म बेलझुण्डीमा संचालित फुटबल प्रतियोगितामा सेन्टर मावि तुलसीपुरले उपाधि हासिल गरेको थियो । प्रतियोगितामा सहभागी खेलाडी विद्यार्थीलाई विद्यालयले निशुल्क शिक्षासंगै प्रति विद्यार्थी पाँच हजार बराबरको खेलकुदका सामग्रिसहित सम्मान गरेको विद्यालयका प्रधानाध्यापक पौडेलले जानकारी दिए ।

जुत्ता र डे«सले विद्यार्थीलाई खेलका लागि थप हौसला थपेको बताए । शिक्षासंगै खेलकुदप्रतिको विद्यार्थीको रुचिलाई प्राथमिकतामा राखेर विभिन्न खेलमा विद्यालयले प्रशिक्षण गरिरहेको प्रधानाध्यापक पौडलेले बताए । उनले फुटबलमात्रै नभएर अन्य विधाका खेलसंग पनि विद्यार्थी जोडिएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा नगरप्रमुख खड्काले तुलसीपुरका सामुदायिक विद्यालयमध्ये सेन्टर माविले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले तुलसीपुरलाई खेलकुद क्षेत्रको हब बनाउनका लागि आगामी वर्षमा पनि आवश्यक बजेट बिनियोजन गरिने बताए । त्यस अवसरमा दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेत, निवर्तनमान अध्यक्ष शुशिल श्रेष्ठ, विद्यालयका खेल प्रशिक्षक दुर्गाराज लवटले बालबालिकाको खेलकुदमा लगानी विद्यालयसंगै अभिभावकले पनि गर्नुपर्ने बताए ।

विद्यालयले खेलाडीलाई निशुल्क शिक्षासंगै खेल सामग्रि दिएपछि आफुहरुलाई झनै सहज भएको अभिभावक सुधा वलीले बताईन् । कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्याप भोला पौडेलले गरेका हुन् ।

प्रकाशित मिति : २०८० असार ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस