
दाङ,५ असार । सवारी दुर्घटनामा परी सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह दम्पति सहित तीनजनाको मृत्यु भएको छ ।
बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा मन्त्री सिंह सवार जिप दुर्घटना भएको हो । जिप दुर्घटना हुँदा मन्त्री सिंह सहित तीन जनाको मृत्यु भएको छ। भने दुइजना गम्भिर घाइते भएका छन्।
प्रदेश मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको जिप डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडमा दुर्घटना भएको थियोे ।
जिप सडकबाट करीव ५० मिटर तल कालङ्गा खोलामा खसेको बझाङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए। जिप दुर्घटनामा परी ५५ वर्षिय मन्त्री पृथ्वीबहादुर सिंह, उनकी ५० वर्षिय श्रीमति अमृता सिंह र भाउजु ६० वर्षिय जयादेवी सिंहको मृत्यु भएको छ ।

रायल प्राथमिक स्वास्थ्य केन्द्र देउराका डा. अरविन्द्र अधिकारीका अनुसार दुर्घटनामा घाइते भएका मन्त्रीकी श्रीमति अमृता र भाउजू जयादेवीको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदा बाटोमै मृत्यु भएको हो। ‘दुवै जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो, उनले भने-‘शव प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ।’
दुर्घटनामा परी गम्भीर घाइते भएका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमा कोहलपुर मेडिकल कलेजमा लगिएको थियो।
मन्त्री सिंहसँगै जिप चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई पनि उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पुर्याइएको डा. भण्डारीले बताए। गाडी दुर्घटनामा परेका मन्त्री सिंहलाई कोहलपुर मेडिकल कलेजका चिकित्सकले मृत्त घोषणा गरेका हुन् । उनकी श्रीमति अमृता र भाउजु जयालाई बझाङको देउरास्थित पोलिक्लिनिकमा चिकित्कसले मृत्त घोषणा गरेका हुन् ।
मन्त्री सहित पाँच जना सवार जिप मंगलवार दिउँसो दुर्घटना भएको थियो । जिप चालक ३५ वर्षीय धर्मराज जोशी र मन्त्रीका सुरक्षा गार्ड दीपक भण्डारी समेत घाईते भएका छन् । चालक जोशीको अवस्था मध्यम र प्रहरी सहायक हवल्दार भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।