दाङ, २२ जेठ । दाङका सरकारी कार्यालय शुसासनमा कमजोर देखिएका छन् ।
राष्ट्रिय सतर्कता केन्द्रले दाङका सरकारी कार्यालयमा गरेको छड्के अनुगमनको क्रममा अधिकांश कार्यालय सेवाग्राही मैत्री नभएको देखिएको हो । अनुगमनको क्रममा अधिकांश सरकारी कार्यालयमा सेवा लिन सेवाग्राहीले अतिरिक्त रकम तिर्नु परेको बताएका छन् ।
सतर्कता केन्द्रको सर्वेक्षणका क्रममा सेवाग्राहीहरुले समयमा सेवा नपाएको, सेवा लिन झन्झट व्यहोर्नुपरेको, चर्को दस्तुर तिर्नुपरेको, कार्यालयमा कर्मचारी नभेटिएको, भेटिएपनि सेवाग्राहीमैत्री व्यवहार नगरेको उल्लेख गरेका छन् ।
सतर्कता केन्द्रले २४ वटा सरकारी कार्यालयमा छड्के अनुगमन गरेको छ । यातायात व्यवस्था कार्यालय, कृषि ज्ञान केन्द्र, मालपोत कार्यालय तुलसीपुर, शिक्षा विकास तथा समन्वय इकाई, कोष तथा लेखा नियन्त्रक कार्यालय, नापी कार्यालय तुलसीपुर, तथ्यांक कार्यालय, नापी कार्यालय घोराही, कारागार कार्यालयमा सर्वेक्षण गरेको हो ।
यस्तै सडक डिभिजन कार्यालय, यान्त्रिक कार्यालय, सडक पूर्वाधार कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, मौरी जोन, जिल्ला समन्वय समिति, सघन शहरी तथा भवन निर्माण आयोजना, भूमिसुधार तथा मालपोत कार्यालय घोराही, घरेलु तथा साना उद्योग कार्यालय, शहरी विकास तथा भवन कार्यालय र जिल्ला हुलाक कार्यालयमा सतकर्ता केन्द्रले छड्के अनुगमन गरेको छ ।
अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र मौसम विज्ञान कार्यालयको रेकर्ड भने सार्वजनिक गरिएको छैन् ।