दाङ – दाङको घोराही-तुलसीपुर फोरलेन सडकको ठेक्का तोडिएपछि सोही सडकमा परेका खाल्डाखुल्डी मर्मत गर्नकालागि टेण्डर आह्वान गरिएको छ ।
सडक डिभिजन कार्यालय दाङले ३ करोड ९ लाख ५० हजारको टेन्डर आह्वान गरेको छ । सोही सडकमा देखिएका खाल्डाखुल्डीले दुर्घटना बढिरहेको भन्दै तत्काल मर्मत गर्नुपर्ने भएकाले सूचना जारी गरिएको कार्यालय प्रमुख गुरु प्रसाद अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार दुई खण्डमा काम हुनेछ । घोराहीको कुइरेपानी हुँदै तुलसीपुरसम्मको २९ किलोमिटर सडक बीचमा परेका खाल्डाखुल्डी पुर्ने कार्य हुने उहाँले बताउनुभयो । उक्त कार्य असोजसम्म सक्ने गरि सम्झौता हुनेछ । फोरलेन कार्य अलपत्र हुँदा बीच-बीचमा खाल्डाखुल्डी छन् । जसले गर्दा आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम पनि बढिरहेका छन् ।
त्यसको चौतर्फी आलोचना पछि ठेक्का रद्दको प्रक्रिया अघि बढेको थियो । ठेकेदार नै सम्पर्कमा नआएपछि ठेक्का रद्द गरिएको फोरलेन परियोजना कार्यालय लमहीका सूचना अधिकारी कृष्टिना थापाले बताउनुभयो ।
फोरलेन ठेक्काको पटक-पटक गरि चौथो पटक म्याद थप गरिएको थियो । त्यो अबधी २०८० असारसम्म थियो । तर, त्यो अबधीमा ठेक्का लिएको कम्पनीले काम गर्न सक्ने सम्भावना कम रहेकाले ठेक्का तोड्ने प्रक्रिया अघि बढेको थियो । चारलेनको ठेक्का भारतीय तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राले लिएको थियो । उक्त कम्पनीले पेटी ठेकेदार मार्फत काम गर्दै आएको थियो ।
यो बीचमा ८ जना पेटी ठेकेदारलाई काम दिएको भएपनि निर्माण सुरु भएको ५ बर्षसम्म पनि १० प्रतिशत भन्दा बढि काम हुन सकेको छैन । जसले गर्दा यस क्षेत्रका जनप्रतिनिधि, बिभिन्न संघसंस्था तथा राजनीतिक दलले समयमा काम गर्न दवाव दिएका थिए । यदि काम गर्न नसके ठेक्का तोड्नु पर्ने माग राख्दै आएका थिए । पटक-पटक जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला समन्वय समितिको पहलमा छलफल भइरहेको थियो ।